राजदूत श्रेष्ठलाई चिनियाँ विदेशमन्त्रीको चिठी- ‘गठबन्धन हेरफेरले सम्बन्धमा फरक पर्दैन, विगतका सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौँ’

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण
राजदूत श्रेष्ठलाई चिनियाँ विदेशमन्त्रीको चिठी- ‘गठबन्धन हेरफेरले सम्बन्धमा फरक पर्दैन, विगतका सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौँ’

उच्च अधिकारीसँग बिदाइभेट सकेका राजदूत श्रेष्ठ शनिबार स्वदेश फर्किँदै

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा सत्तागठबन्धनमा परिवर्तन आए पनि नेपाल–चीन सम्बन्धमा केही फरक नपर्ने स्पष्ट पारेका छन् । कार्यकाल सकेर स्वदेश फर्किने तयारीमा रहेका नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई बुधबार पठाएको चिठीमा उनले विगतमा भएका समझदारी कार्यान्वयनमा पुनः प्रतिबद्धता पनि जनाएका छन् । 

राजदूत श्रेष्ठले सोमबार परराष्ट्रसचिवस्तरका विदेश मन्त्रालयका उपमन्त्री सुन वेइदोङ र बुधबार एसियाली मामिला हेर्ने विदेश मन्त्रालयका महानिर्देशक लिउ जिनसाङसँग बिदाइभेट गरेका थिए । एसियाली मामिलासम्बन्धी महानिर्देश्क लिउमार्फत राजदूत श्रेष्ठलाई विदेशमन्त्री वाङले चिठी पठाएका छन् । 

‘नेपालको घरेलु राजनीतिक परिस्थितिमा जे–जस्तो बदलाव आए पनि नेपालमा सबै राजनीतिक दल एक चीन सिद्धान्तमा एकमत भएकोमा हामी खुसी छौँ,’ चिनियाँ विदेशमन्त्री वाङको चिठी उद्धृत गर्दै राजदूत श्रेष्ठले बेइजिङस्थित नेपाली राजदूतावासमा नयाँ पत्रिकासँग भने । चिनियाँ विदेशमन्त्री वाङले दुई देश हिमाल र नदीहरूले जोडिएको चर्चा गर्दै दुई देशका शीर्ष नेताहरूबिच विगतमा भएका महत्वपूर्ण सहमति कार्यान्वयनका लागि चीन प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । उनले नेपाल–चीन सम्बन्धको विकासमा व्यक्तिगत रूपमा आगामी दिनमा श्रेष्ठको योगदान रहिरहने पनि विश्वास गरेका छन् । 

चिनियाँ विदेशमन्त्री वाङको यो वर्ष नेपाल भ्रमणको तयारी छ । यद्यपि, वाङको भ्रमणबारे चिनियाँ उच्च अधिकारीहरूसँगको भेटवार्तामा र व्यक्तिगत चिठीमा पनि केही उल्लेख नगरेको राजदूत श्रेष्ठले बताए । 

राजदूत श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग बिदाइभेटका लागि प्रयास गरेका थिए । तर, वाङसँग भेटको समय मिलेन । राजदूत श्रेष्ठलाई वाङले चिठी पठाएर नेपालका लागि सन्देश दिएका हुन् । ‘विदेशमन्त्री वाङ यीसँग मेरो भेट्ने कुराकानी भइरहेको थियो । तर, अन्य कूटनीतिक व्यस्तताका कारण भेट सम्भव भएन भन्ने खबर आयो र उहाँको व्यक्तिगत चिठी प्राप्त भयो,’ श्रेष्ठले भने, ‘एक महिनामा फर्किनु भन्ने सरकारको निर्णय छ, यति छोटो समयमा चीनमा महत्वपूर्ण भेटघाट गर्न सहज हुँदैन ।’ 

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले मंगलबार र बुधबार चिनियाँ विदेशमन्त्री वाङसँग भेटवार्ता गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङसँग राजदूत श्रेष्ठको भेटका लागि यो समयको अनुकूलताबारे चिनियाँ विदेश मन्त्रालयले विगतमा गृहकार्य गरेका वेला अमेरिकी उच्च अधिकारीको भ्रमणका कारण हुन नसकेको राजदूत श्रेष्ठको बुझाइ छ । 

‘व्यक्तिगत रूपमा पनि नेपाल–चीन सम्बन्ध अघि बढाउन र प्रवर्द्धन गर्न भूमिका निर्वाह गरेको भनेर मलाई प्रशंसा गरेका छन् । विगत दुई वर्ष तपाईंको कार्यकालमा नेपाल–चीन सम्बन्ध सुदृढ भएको छ र यसमा तपाईंको सक्रिय भूमिका छ भन्ने व्यहोराको चिठी छ,’ राजदूत श्रेष्ठले भने ।

राजदूत श्रेष्ठले बेइजिङमा चिनियाँ उच्च अधिकारी र उनका कूटनीतिक मित्रजनसँग बिदाइभेट पनि सकेका छन् । केही छिटपुट भेटवार्ता सकेर उनी शनिबार स्वदेश फर्किने तयारीमा छन् । बिदाइभेटमा चिनियाँ अधिकारीहरूले नेपाल–चीन सम्बन्धको समीक्षा भएको र आफ्नो कार्यकालको पनि छलफल भएको राजदूत श्रेष्ठले बताए । 

चीनका लागि नेपाली राजदूत श्रेष्ठ सरकारी निर्देशनअनुसार शनिबार स्वदेश फिर्ता हुँदै छन् । चीनका लागि राजदूत सिफारिस भएका डा. कृष्णप्रसाद ओलीको संसदीय सुनुवाइ प्रक्रिया बाँकी छ । 

शेरबहादुर देउवा नेतृत्वको कांग्रेस–माओवादी गठबन्धनका पालामा राजदूत नियुक्त भएका श्रेष्ठलाई एमाले–कांग्रेस गठबन्धन सरकारले फिर्ता बोलाएको छ । राजदूत श्रेष्ठले दुई वर्षमा नेपाल–चीन सम्बन्धबारे अध्ययन गरेको, चीनका २३ प्रान्तको भ्रमण गरेर नजिकबाट बुझेको र नेपाल–चीन परम्परागत नाका खोल्न भूमिका निर्वाह गरेका बताए । 

उनले काठमाडौं–सांघाई हवाई उडानका लागि प्रयास गरेको, काठमाडौंदेखि तिब्बतको ल्हासासम्म बससेवा सञ्चालनका लागि पनि प्रयास गरेको भन्दै सार्थकता पाउने विश्वास गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई चीनले अनुदानमा परिणत गर्नेमा आफू आशावादी रहेको पनि बताए । 
 

See More On

सुझावित समाचार