सुदूरपश्चिमको विकासमा सहयोग गर्न भारत सरकारलाई भनेको छुः परराष्ट्रमन्त्री डा. राणा

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छिन्। 

गौरापर्व मनाउन आज धनगढी पुगेकी परराष्ट्रमन्त्री राणाले आफू सो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएकी हुन्। हालैको आफ्नो भारत भ्रमणमा पनि आफूले यस क्षेत्रको विकासको विषयमा भारत सरकारसँग छलफल गरेको उनले बताइन्।

धनगढी उपमहानगरपालिका वडा नं ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने गरी स्तरोन्नति गर्ने विषयमा भारत भ्रमणको क्रममा छलफल गरेको बताइन्।

मन्त्री डा. राणाले भनिन्, ‘केही वर्षअघि पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएका वेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो। यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै ‘लाइफ लाइन’ हो। त्यसैले यसपटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेकी छु। भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ। हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउनेछौँ।’

उनले भारत भ्रममणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि कुरा राखेको जानकारी दिइन्।

सुझावित समाचार