एन्फा बैठकमा तनाव : हात हालाहालको स्थिति बनेपछि स्थगित, अर्को बैठक भोलि

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको कार्यसमितिको बैठक तनाव भएपछि स्थगित गरिएको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङले बिहान आठ बजे डाकेको बैठकमा सुरुदेखि दुई पक्षबिच विवाद भएको थियो । 

नेम्वाङले कर्मचारी र पदाधिकारीको पारिश्रमिक एजेन्डा प्रस्तुत गरेपछि विवाद उत्पन्न भएको हो । उनले सीधै एन्फा महासचिव किरण राईको मासिक पारिश्रमिक दुई हजार डलर पुर्याउने प्रस्ताव राखेपछि असन्तुष्ट पक्षका नौ सदस्यले चर्को विरोध जनाएका थिए । पारिश्रमिकबारेको छलफलका क्रममै पदाधिकारीबिच हात हालाहालको अवस्था आएको एन्फाका उपाध्यक्ष विराटजंग शाहीले बताए । 

‘अध्यक्षज्यूले सीधै महासचिवको प्रतिमहिनाको पारिश्रमिक दुई हजार डलर पुर्याउने प्रस्ताव राख्नुभयो । हामी नौजना पदाधिकारीले विरोध जनायौँ,’ शाहीले भने । नेम्वाङले पेलेरै महासचिवको पारिश्रमिक दुई हजार डलर पुर्याउने निर्णय गरेलगत्तै डेस्कमा रहेका बोतल तथा ग्लास फ्याँक्ने काम भयो । दुवै पक्षका पदाधिकारीले आफू बसेका कुर्सी फालाफाल गरे । 

‘हामीले एकल निर्णयको विरोध जनायौँ । त्यसपछि दुई पक्षबीच चर्को स्वरमा दोहोरी नै चल्यो, यस क्रममा एक–अर्काबिच अपशब्दसमेत प्रयोग भए,’ बैठकमा उत्पन्न अवरोध अवस्थाबारे शाहीले सुनाए, ‘बिस्तारै बैठक उत्तेजित हुँदै गयो । सुरुमा टेबुल ठटाउने काम भयो, त्यसपछि कुर्सीसमेत फ्याँकियो । स्थिति नियन्त्रणबाहिर जाँदा पदाधिकारीबिच नै हात हालाहालको अवस्था आएको थियो ।’ 

१२ घण्टासम्म चलेको एन्फाको कार्यसमितिको बैठकमा २३ मध्ये १४ वटा बुँदामा मात्र छलफल भयो । त्यसपछि एन्फाले बाँकी रहेका एजेन्डामाथि छलफल गर्न बिहीबारका लागि बैठक बोलाएको छ । एन्फाले आधिकारिक बैंठकमा भएको निर्णयबारे जानकारी दिएको छैन । ‘बैठकको निर्णयको सबै जानकारी हामी एकैपटक मिडियालाई बिहीबार मात्र दिन्छौँ,’ एन्फाका महासचिव किरण राईले भने, ‘आगामी बस्ने बैठकमा केही संशोधन पनि हुन सक्छ ।’ साफ यू–२० च्याम्पियनसिपको बुधबार फाइनल हुने भएकाले एन्फाको कार्यसमिति बैठक बिहीबारका लागि राखेको हो । 

महासचिवको तलब दुई हजार डलर
एन्फा अध्यक्ष नेम्वाङले महासचिव किरण राईको मासिक पारिश्रमिक दुई हजार अमेरिकी डलर पुर्याउने निर्णय गरेका छन् । यसअघि एन्फाबाट राईले एक लाख २० हजार रुपैयाँ थाप्दै आएका थिए । अध्यक्ष नेम्वाङले आठौँ नम्बरको एजेन्डामा कर्मचारी र पदाधिकारीको सेवा–सुविधामाथि छलफल गर्ने क्रममा एकैपटक महासचिवको तलव वृद्धिको प्रस्ताव राखेका हुन् । महासचिवको नयाँ पारिश्रमिकविरुद्ध वैठकमा सहभागी अन्य पदाधिकारीहरूले विरोध जनाए । बहु संख्याका पदाधिकारीले आपत्ति जनाउँदा पनि नेम्वाङले पेलेरै महासचिवको तलब दुई हजार डलर पुर्याएको एन्फा स्रोतले बतायो । ‘अध्यक्षज्यूले एकैपटक महासचिवको तलब दुई हजार डलर पुर्याउने प्रस्ताव राख्नुभयो । हामीले विरोध जनायौँ । तर, उहाँले पेलेरै आफ्नो प्रस्ताव पारित गर्नुभयो,’ स्रोतले भन्यो, ‘फिफामा आबद्ध फुटबल संघमध्ये एन्फा महासचिवको तलब कम भएको उहाँको भनाइ थियो । कामको मूल्यांकनका आधारमा तलब वृद्धिको प्रस्ताव राख्नुभयो ।’ 

खेलाडीको मासिक पारिश्रमिक ३० हजार
अध्यक्ष नेम्वाङले महासचिवको पारिश्रमिक दुई हजार डलर पुर्याउँदा राष्ट्रिय टोलीका खेलाडीमाथि अन्याय गरेका छन् । एन्फा बैठकमा उनले सुरुमा राष्ट्रिय खेलाडीलाई पारिश्रमिक २३ हजार रुपैयाँ दिने प्रस्ताव राखेका थिए । तर, बैठकमा पदाधिकारीले अध्यक्षको पहिलो प्रस्ताव अस्वीकार गरेका थिए । ‘खेलाडीहरूको मासिक ३० हजार रुपैयाँ पुर्याउनुपर्ने माग हामीले राख्यौँ । त्यसपछि निर्णय सर्वसम्मतले पारित भएको हो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘हामीले खेलाडीको वर्गीकरण गरी त्यसअनुसार तलब दिनुपर्ने भनेका छौँ ।’ 

प्रशिक्षक भिन्सेन्जोको सम्झौता नथपिने
एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको सम्झौता नवीकरण नगर्ने भएको छ । एन्फाले खुला प्रतिस्पर्धाबाट नयाँ राष्ट्रिय टोलीमा प्रमुख प्रशिक्षक नियुक्त गर्ने निर्णय लिएको बैठकमा सहभागी पदाधिकारीले बताए । भिसेन्जोको सम्झौता तीन महिनाअघि नै सकिएको थियो । तर, फिफा विश्वकप फुटबलको छनोट चरण खेलसम्म एन्फाले उनको समयावधि बढाएको थियो । 

नेपालको अन्तर्राष्ट्रिय फुटबल खेल अर्को वर्ष मात्र छ । मार्च २०२५ मा हुने एसियन कप छनोट हुनेछ । त्यसअगाडि नेपालको कुनै पनि अन्तर्राष्ट्रिय खेल छैन । एन्फाले सन् २०२३ को मार्चमा भिसेन्जोलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनले १९ अन्तर्राष्ट्रिय खेलमा जिम्मेवारी पाए । भिसेन्जोको प्रशिक्षणमा नेपालले १० हारको सामना गरेको छ । यसैगरी, नेपालले पाँच जित र चार बराबरी नतिजा उनकै प्रशिक्षणमा निकाल्यो । भिसेन्जोको प्रशिक्षणमा नेपालले थ्री नेसन्स कप, साफ च्याम्पियनसिप, विश्वकप छनोट र मैत्रीपूर्ण खेल खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले प्रधानमन्त्री कप थ्री नेसन्स कप उपाधि जितेको थियो ।

दशरथ रंगशालामा कृत्रिम घाँस राख्ने प्रस्ताव
कार्यसमिति बैठकले नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशालामा कृत्रिम घाँस राख्ने प्रस्ताव भएको छ । रंगशालाको घाँसेमैदान हटाएर कृत्रिम घाँस राख्न प्रस्ताव बैठकमा राखिएको एक पदाधिकारीले नयाँ पत्रिकालाई बताए । एन्फा र राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशाला मैदान राम्रोसँग रेखदेख नगरेपछि चार महिनासम्म अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो । गत महिना मात्र रंगशालाले एक वर्षका लागि अस्थायी अन्तर्राष्ट्रिय मैदान पाएको थियो । यसै मैदानमा नेपालको चर्च ब्वाइज क्लबले भुटानको पारोविरुद्धको एएफसी च्यालेन्ज कपको प्रारम्भिक चरण खेलेको थियो । निरन्तर वर्षाले मैदान हिलाम्मे बनेपछि पारोबाट खेलेका जापानका चर्चित फुटबलर होन्डाले आलोचना गरेका थिए । मैदान प्राविधिक रूपमै खेल्न नमिल्ने भएपछि साफ यू–२० च्याम्पियनसिपका सबै खेल वैकल्पिक मैदानका रूपमा रहेको एन्फा कम्प्लेक्समा सारिएको थियो । स्रोतअनुसार फिफाकै आर्थिक स्रोतमा एन्फाले दशरथ रंगशालामा कृत्रिम घाँस राख्ने तयारी गरेको हो ।

एन्फाले रंगशालामा घाँस परिवर्तन गर्न राखेपमा केही दिनमै प्रस्ताव लानेछ । एन्फाको प्रस्तावमा राखेपले सहमति जनाउँदा दशरथ रंगशालामा कृत्रिम घाँसेमैदान बन्नेछ । 

सुझावित समाचार