नाफा बुक गर्न खोज्दा ओर्लियो सेयर बजार : दुई कारोबार दिनमा झन्डै दुई सयले घट्यो, नयाँलाई बजार प्रवेश गर्न सुझाव
साताको दुवै कारोबार दिनमा सेयर बजार ओरालो लागेको छ । कारोबार भएको आइतबार ७९.८८ अंक र मंगलबार एक सय ११ दशमलव ९६ अंकले नेप्से घटेको हो । यी दुई कारोबार दिनमा कुल एक सय ९१.८४ अंकले बजारमा गिरावट आइसकेको छ । १७ असारयता निरन्तर उकालो लागेको बजार ३१ साउनसम्म नौ सय ६३ अंकले बढेर स्थिर देखिएको थियो ।
सेयर लगानीकर्ता छोटेलाल रौनियारका अनुसार करिब एक हजार अंकले बजार बढिसकेको अवस्थामा अहिले नाफा बुक गरेर बस्ने लगानीकर्ताको प्रवृत्तिका कारण बजार घटेको हो । ‘बजारमा लगानीकर्ताभन्दा बढी कारोबारी हाबी छन् । कारोबारीले निश्चित समयमा नाफा भएपछि बुक गर्ने हुँदा यस्तो हुनु स्वाभाविक हो । त्यसैले आत्तिहाल्नुपर्दैन,’ उनले भने ।
नवप्रवेशी लगानीकर्ताका लागि अवसर
यसअघि बढिरहेको बजारमा छिर्न नसकेका सर्वसाधारण लगानीकर्ताका लागि अहिले उपयुक्त अवसर भएको उनको ठम्याइ छ । ‘अहिले सेयर खरिद गर्न चाहने नवप्रवेशी लगानीकर्ताका लागि अवसर हो । किनभने, सूचीकृत कम्पनीहरू सालबसाली काम सकाएर लाभांश घोषणा गरिरहेका छन् । यो सेयर बजारमा बाली रोप्ने समय हो, अहिले बाली लगाउनेले दुई–तीन महिनापछि बाली भित्र्याउन पाउँछन्,’ उनले भने ।
सरकार परिवर्तन हुने अवस्था नरहेको, मुद्रास्फीति न्यूनदरमा रहेको, रेमिट्यान्स आउने क्रम जारी रहेको र बैंक तथा वित्तीय संस्थासँग पनि पर्याप्त पैसा रहेको अवस्थामा बजार घट्नुपर्ने अरू कारण नरहेको रौनियारको विश्लेषण छ ।
सेयर बजारमा कारोबारी हाबी भएकाले आधार नभएका कम्पनीमा पैसा हाल्ने र आत्तिएर बेचिहाल्ने प्रवृत्तिका कारण अहिले बजार घटेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले बताए । उनले नेप्से परिसूचक बढेको समयमा पनि राम्रा कम्पनीहरूको मूल्य न्यून रहेको दृष्टान्त हेर्न सुझाए ।
‘हाम्रो बजारमा लगानीकर्ताभन्दा कारोबारी बढी सक्रिय छन् । बजार परिपक्व छैन । लगानीकर्ता र कारोबारीबीच सन्तुलन हुने हो भने मात्रै बजार परिपक्व हुने थियो । कारोबारीहरूमा आधार बलियो नभएका कम्पनीमा पनि पैसा हाल्ने प्रवृत्ति छ । त्यसैले गर्दा आइतबार र मंगलबार आत्तिएर सेयर बेच्नुपरेको हो जस्तो मलाई लाग्छ,’ सापकोटाले भने ।
बजारमा संस्थागत लगानीकर्ताको प्रवेश नभएसम्म राम्रा कम्पनीहरूको सेयर मूल्य नबढ्ने उनको बुझाइ छ । उनले भने, ‘बैंक तथा बिमा कम्पनीजस्ता संस्थागत लगानीकर्ता अझै प्रवेश गरेका छैनन् । त्यसैले बलियो वित्तीय विवरण भएका कम्पनीहरूको सेयर मूल्य अझै न्यून छ ।’
मंगलबार बजार परिसूचक घट्दा कारोबार पनि घटेको छ । आइतबार १९ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १८ अर्ब ४६ करोडको कारोबार भएको छ । कारोबारमा आएकामध्ये बैंकिङ समूह ४.९२ प्रतिशतले र फाइनान्स समूह ४.६९ प्रतिशतले घटेका छन् । विकास बैंक समूह ४.१८ प्रतिशतले खस्किएको छ । लगानी समूहको परिसूचक ४.१३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । परिसूचक घटे पनि तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको सेयर मूल्य १० प्रतिशतले बढेकाले सर्किट ब्रेकर लगाइएको थियो ।