अब बन्ने सत्य निरुपण आयोगमा कुनै पार्टीका ताबेदार र दाबेदारलाई होइन, दक्षता र विज्ञतासहितका इमानदार र समझदार व्यक्तिलाई नियुक्त गर्नुपर्छ
संक्रमणकालीन न्याय निरुपण सम्बन्धमा व्यवस्था गर्न बनेको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन भएसँगै रिक्त रहेका आयोगमा अध्यक्ष तथा सदस्य नियुक्तिको बहस तीव्र भएको छ । विगतमा दुईपटक बनेका चारवटा आयोगले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंगो नलगाउँदै पदाधिकारी बिदा भएकाले पनि यसपटक ती आयोगमा कस्ता मान्छे नियुक्त हुने हुन् भन्ने चासो सर्वत्र छ । त्यसो त के अब बन्ने आयोगले चाहिँ संक्रमणकालीन न्यायसम्बन्धी काम सम्पन्न गर्लान् त भन्ने आशंका पनि बाँकी नै छ । किनभने विगतमा आयोगमा नियुक्ति गर्दाताक नै ऐन संशोधनविनै नियुक्त भएका अध्यक्ष र सदस्यहरूले काम सम्पन्न गर्न सक्दैनन् भन्ने जुन आशंका गरिएको थियो, त्यो सत्य सावित भइसकेको छ । अब ऐन संशोधन भइसकेकाले ऐनका कारण आयोगले काम गर्न सकेनन् भन्ने स्थिति नरहला, तर सही व्यक्ति नियुक्ति भएनन् भने संक्रमणकालीन न्याय टुंगोमा पुग्दैन भन्ने आशंकाचाहिँ बाँकी नै छ ।
आयोगका पदाधिकारीको सिफारिस र गठनमा विगतकै नियति दोहोरियो भने परिणाममा पनि विगतकै नियति दोहोरिन सक्ने आशंका हुनु अस्वाभाविक होइन । प्रक्रियाअनुसार नै परिणाम प्राप्त हुने हुँदा प्रक्रियामै चुकेपछि परिणाम हात लाग्यो शून्य नै हुन्छ । बीज जस्तो रोप्यो फल त्यस्तै लाग्ने हो, सही परिणाम र प्रतिफलका लागि सही मान्छे सही ठाउँमा नियुक्त हुनु आवश्यक छ । त्यसैले योग्य, क्षमतावान्, दक्ष, निपुण, दृढ इच्छाशक्ति भएको आफ्नो जिम्मेवारी पूरा गरेरै छोड्ने प्रतिबद्धता भएको व्यक्ति अध्यक्ष र सदस्यमा छनोट हुनुपर्छ । सिफारिस समिति गठन भइसकेकाले समितिले त्यसतर्फ ध्यान पुर्याउने अपेक्षा गर्नुपर्ने हुन्छ ।
विसं २०५२ फागुनदेखि दश वर्षसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बिच भएको सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवताविरुद्धका अपराधमा संलग्न व्यक्तिहरूको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिने कुरा नेपाल सरकार र माओवादीबिच ५ मंसिर ०६३ मा सम्पन्न विस्तृत शान्ति सम्झौतामा उल्लेख भएको प्रावधानलाई कार्यान्वयन गर्न बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ जारी भई बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन जारी भई दुईपटक चारवटा आयोग गठन भए । तर, दुवैपटक गठन भएका आयोग काम टुंगोमा नपुर्याउँदै बिदा भए ।
विस्तृत शान्ति सम्झौतामा झैँ बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ (१) मा सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघनका घटनाको सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, पीडक र पीडितबिच मेलमिलाप गराउन, पीडितलाई परिपूरणको व्यवस्थालगायत त्यस्तो घटनासँग सम्बन्धित गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सिफारिस गर्ने कामसमेतका लागि छुट्टाछुट्टै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने व्यवस्था गरिएको छ । ऐनले आयोगहरूलाई मानव अधिकार उल्लंघनका घटनाको सत्य अन्वेषण गर्ने, मेलमिलाप गराउने, परिपूरण सिफारिस गर्ने र कारबाहीका लागि सिफारिस गर्ने गरी स्पष्ट रूपमा चारवटा जिम्मेवारी तोकेको छ ।
आयोगका अध्यक्ष तथा सदस्यको योग्यता सम्बन्धमा सो ऐनको दफा ४ मा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानव अधिकार, शान्ति, कानुन, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, पैँतीस वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । अध्यक्षको हकमा भने सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको भनी थप योग्यतासमेत तोकिएको छ । साथै, गैरनागरिक, फौजदारी अभियोग वा मानव अधिकार उल्लंघनमा कसुरदार ठहरिएको व्यक्ति, सशस्त्र द्वन्द्वमा संलग्न रहेको व्यक्ति नियुक्तिका लागि अयोग्य हुने भनिएको छ ।
ऐनले तोकेको यो योग्यताचाहिँ ऐनको पूर्णताका लागि बनाइएको योग्यता मात्र हो । कानुनी भनौँ वा शैक्षिक आनुभविक र नैतिक योग्यता हो । यसलाई औपचारिक योग्यता भने पनि हुन्छ । यस्तो योग्यता पनि चाहिन्छ, तर यति औपचारिक योग्यता हुँदैमा त्यो व्यक्ति आयोगमा नियुक्तिका लागि उपयुक्त व्यक्ति हुन्छ नै भन्न सकिन्न । ऐनमा उल्लेख भएबमोजिमका यस्ता औपचारिक योग्यता भएका व्यक्ति देशमा हजारौँ छन्, तर ती हजारौँ सबै संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन योग्य छैनन् । औपचारिक योग्यताका साथै अतिरिक्त योग्यता भएका व्यक्तिहरू आयोगको अध्यक्ष र सदस्यमा चयन भएमा मात्र संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउँछन् । त्यस प्रकारका व्यक्ति छनोटका लागि सिफारिस समितिले छनोट र सिफारिस प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ । पारदर्शी र निष्पक्ष रूपमा अध्यक्ष र सदस्य छनोट गरी सिफारिस गर्न समिति दलहरूको हस्तक्षेपबाट मुक्त हुनुपर्छ । अध्यक्ष र सदस्यको नियुक्ति दलीय भागबन्डाका आधारमा गरिनुहुँदैन । आयोगमा दृढ इच्छाशक्ति भएका व्यक्तिको चयन हुनुपर्छ । दलनिकट व्यक्तिहरूको ‘रिटायर्ड’ जीवन व्यतीत गर्ने स्थानका रूपमा आयोगलाई ‘डम्पिङ साइट’ बनाउनुहुँदैन ।
अब बन्ने आयोगमा कानुन, मानव अधिकारका मूल्य–मान्यता, संक्रमणकालीन न्यायको मर्म र देशको राजनीतिक धरातलीय वस्तुस्थितिको विश्लेषण गर्न सक्ने विज्ञ व्यक्ति नियुक्त हुनुपर्छ । कुनै दलका कार्यकर्ताले पार्टीमा भोटो फटाएको वर्ष गनेर तिनीहरूलाई व्यवस्थापन गर्ने थलो आयोग हुनुहुँदैन । विज्ञलाई पाखा लगाएर दलका कार्यकर्तालाई पुरस्कृत गर्नका लागि आयोग प्रयोग गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । संक्रमणकालीन न्याय कानुनी व्याख्याका भरमा मात्र नटुंगिने विषय भएको हुँदा नियुक्त हुने व्यक्ति सरोकारवाला सबै पक्षसँग छलफल, मध्यस्थता, बहस गर्ने र अरूका कुरा सुन्ने तथा आफ्ना कुरा अरूलाई सुनाउन बुझाउन सक्ने व्यक्ति हुनुपर्छ । नियुक्त हुने व्यक्तिहरू राज्य, द्वन्द्वपीडित, मानव अधिकारकर्मी र नागरिक समाजका लागि स्वीकार्य व्यक्ति हुनुपर्छ । ती व्यक्ति अन्तर्राष्ट्रिय समुदायबाट समेत विश्वासयोग्य हुनु आवश्यक छ ।
अध्यक्ष र सदस्यमा नियुक्तिपश्चात् नियुक्त भएको व्यक्तिमाथि अमुक पार्टीको, अमुक नेताको नजिकको, अमुक नेताको नातेदार भन्ने ट्याग लाग्नुहुन्न । कसैले नियतवश त्यस्तो ट्याग लगाएको हो भने आफूलाई लगाएको आरोप असत्य हो भनेर प्रमाणित गर्न सक्ने व्यक्ति चयन हुनुपर्छ । कोही कसैको नजिक भएर वा कसैले सिफारिस गरेर होइन, आफ्नो निष्पक्षता, स्वतन्त्रता, विज्ञता र योग्यताकै कारण नियुक्त भएको हो भनेर सबैलाई विश्वास दिलाउन सक्नुपर्छ ।
आयोगमा अध्यक्ष र सदस्यको सिफारिस र नियुक्त गर्दा काम गर्ने इच्छाशक्ति भएकालाई रोक्ने तर काम गर्ने जाँगर मरिसकेकालाई जबर्जस्ती नियुक्त गरेर आयोगहरूलाई घाम तापेर टाइम पास गर्ने थलोका रूपमा स्थापित गर्नुहुँदैन । चार वर्ष नियुक्तिको अवधि गन्ने र चार वर्ष समाप्त भएपछि फेरि अर्को एक दुई वर्ष अवधि थपेर जागिर खाने मानसिकता भएका व्यक्तिलाई नियुक्ति गर्ने होइन, बरु ऐनमा तोकिएको समयअगावै काम सक्छु भन्ने प्रतिबद्धता र कार्ययोजना भएको व्यक्तिलाई नियुक्त गरिनुपर्छ ।
दुवै आयोगमा उजुरीका चाङ छन् । खासगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरीका चाङ देखिन्छन् । आयोगमा प्राप्त भएका यी उजुरी पीडितलाई सन्तुष्टि दिलाएर चार वर्षभित्र फस्र्योट गर्नु अत्यन्तै चुनौतीपूर्ण काम छ । यसका लागि उजुरी व्यवस्थापनमा विशेष ध्यान पुर्याउन सक्नुपर्छ । उजुरी फस्र्योटको विधि र प्रक्रियामा स्पष्टता भएको व्यक्ति नियुक्त गरिनु आवश्यक छ ।
सिफारिस समितिले आयोगमा पदप्राप्तिका लागि दौडधुप गर्नेलाई योग्य देख्ने होइन, विज्ञतालाई योग्यता देख्नुपर्छ । छनोट समितिले हाम्रालाई होइन, राम्रालाई छान्नुपर्छ । किनभने हाम्राले कुनै एक पक्षको काम गरेर सबैलाई डुबाउँछन् । राम्राले सबैको काम गर्छन् र सबैलाई उतार्छन् । त्यसैले अब बन्ने आयोगमा कुनै पार्टीका ताबेदार र दाबेदारलाई होइन, दक्षता र विज्ञतासहितका इमानदार, जेहनदार, लचकदार र समझदार व्यक्ति नियुक्त गरिनुपर्छ । सही व्यक्ति सही ठाउँमा पुगे मात्र संक्रमणकालीन न्याय टुंगोमा पुग्नेछ ।