सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमीसमेत भनिन्छ। आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। 

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृंगारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने जानकार गोमती भट्टले बताए। ‘एक महिनाअघिदेखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरूले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ,’ उनले भने, ‘बिरुडा भिजाउँदा मांगलकी सगुन फाँग गाउँछौँ।’ बिरुडा भिजाउने वेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने वेलाको फाग गाउने चलन छ। 

फागमा सबै नारीहरू गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए।

‘मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्दी गरेपछि गौराको आग्रहबमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसंग यस फागमा आउँछ,’ भट्टले भने, ‘यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो।’ यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको उनले बताए।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रूपमा लिइन्छ। सप्तमीका दिन धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याउने परम्परा रहेको सरस्वती अवस्थीले बताइन्। ‘गौरा हाम्रो ठुलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउने गछौँ,’ उनले भने, ‘गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरू निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ।’

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरा नचाइन्छ। त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ। जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। आजकै दिनदेखि ठाउँ-ठाउँमा देउडासमेत खेलिने प्रचलन छ। 

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान शिवकी अर्धांगिनी पार्वतीलाई गौरा देवीका रूपमा पूजाअर्चना गरिँदै आइएको छ। शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो। यो पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ। यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन्।

गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ। कञ्चनपुरमा पनि महाकाली साहित्य संगमलगायतका संस्थाहरूले गौराको अवसरमा विभिन्न कार्यक्रम राखेका छन्। 

साहित्यकार रमेश पन्त मीतबन्धुले आजदेखि महेन्द्रनगरस्थित खुलामञ्चमा गौरा महोत्सव आयोजना गरिएको जानकारी दिए। ‘गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा डुस्को, धुमारीलगायतका गतिविधि गर्छौं,’ उनले भने, ‘परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि पनि महोत्सव आयोजना गरिएको हो।’

सुझावित समाचार