सुनसरीको धरानबाट १४ सय २० केजी गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। धनकुटाबाट तरकारी बोकेको को १ ख ४७३३ नम्बरको ट्रकमा लुकाएर ल्याउँदै गरेको ४० बोरा (१४२० केजी) गाँजासहित दुईजनालाई प्रहरीले धरान उपमहानगरपालिका–१३ साराङबाट बिहीबार बिहान पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङको सुन्दरहरैँचा नगरपलिका–७, गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भूपेन्द्र राई रहेका छन्। गाँजा र ट्रकसहित दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रहरीका अनुसार कोशी प्रदेशका पहाडी जिल्लामा अवैध रूपमा उत्पादन गरिएको लागुऔषध गाँजा लुकाएर भारततर्फ तस्करी गर्ने गरिएको छ। पहाडी जिल्लाबाट भरियाहरूमार्फत विभिन्न उपाय लगाई लुकाएर ल्याएको गाँजा सीमा क्षेत्रमा नेपालतर्फका गोदामहरूमा लुकाएर राख्ने गरिएको छ। उक्त गाँजा मौका हेरेर भारततर्फ तस्करी हुने गरेको प्रहरीले जनाएको छ।