विद्युत् बक्यौता २२ अर्बबाट ६ अर्बमा झारेर सरकारविरुद्ध गलत प्रचार गरियो : प्रधानमन्त्री ओली

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण
विद्युत् बक्यौता २२ अर्बबाट ६ अर्बमा झारेर सरकारविरुद्ध गलत प्रचार गरियो : प्रधानमन्त्री ओली

तस्बिर : संजित परियार/नयाँ पत्रिका

प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले विद्युत् बक्यौता नउठाउने भन्दै गलत प्रचार गरिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले उद्योगीले उपभोग गरेको विद्युतको सबै बक्यौता उठाइने प्रस्ट पारे ।

महालेखाको प्रतिवेदनले २२ अर्ब उठाउनुपर्ने भनेकोमा त्यसलाई ६ अर्बमा झारिएको उल्लेख गर्दै उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकमको हिसाब गाेलमटोल पारिएको जिकिर गरे । 

‘डेडिकेटेड र ट्रंकलाइनका विद्युत् उपाभोक्ताहरूबाट सरकारले बक्यौता महसुल उठाउँछ । एउटा हल्ला चलाइएको छ। उद्योगीहरूले चलाइरहेको उद्योगको लाइन नकाट्नु, किनभने यो ८–१० वर्षअघिदेखिको पेन्डिङ इस्यु हो । पेन्डिङ इस्युलाई गोलमटोल गरेर २२ अर्ब तिर्नुपर्छ भन्ने । २२ अर्ब तिर्नुपर्छ भनेको ठाउँबाट ६ अर्बमा ल्याइपुर्याउने अनि ६ अर्बचाहिँ उठाउँछ कि भनेजस्तो पारेर विद्युत् लाइन काट्ने । पहिले पनि लाइन काट्या थियो, जोड्या थियो । किन काट्यो ? किन जोडियो ? काट्दै जोड्दै किन गरियो ?’ प्रधानमन्त्रीले प्रश्न गरे। 

एकातिर विद्युत् बढी भएर खेर गइरहेको र अर्कोतिर उद्योगहरू घाटामा रहेको भन्दै ओलीले उपभोग गरेको विद्युतको मात्रै महसुल उठाइने प्रस्ट पारे।

उनले भने, ‘२२ अर्ब असुल गरिनुपर्ने, ६ अर्ब मात्र किन भयो त ? अहिलेको सरकारले उठाउँछ । उपभोग गरेको विद्युतको महसुल उठाउनुपर्छ । उपभोग गरेको छैन भने उठाउनुपर्दैन भनेको हो । उपभोग गरेको महसुल उठाउनुपर्दैन कसले भनेको छ ? मैले यसै रोस्टमबाट उठाउनुपर्छ भनेर रिपिटेड्ली भनेको छु । जसले महसुल नउठाएर समस्या पैदा भयो उसले महसुल घुमाइफिराईकन । कहाँ गयो १६ अर्ब ? २२ अर्ब उठाउनुपर्ने भनेको महालेखाको प्रतिवेदन संसदमा पेस भएको छ।’ 

सुझावित समाचार