काठमाडौं महानगरपालिका– ८ का दुईवटा फल्चाले ९१ वर्षपछि पुनर्जीवन पाएका छन्। ०९० सालको भूकम्पपछि हराएका नवाली टोलस्थित ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनर्निर्माण भएको हो। फल्चाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतले फल्चाहरूको मंगलबार उट्घाटन गरेका छन्।
यी फल्चामध्ये ‘ग्वलः दे’ ०९० सालको भूकम्पपछि हराएको थियो। वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो। शिलापत्रमा फल्चा निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण ८७३ मा भएको उल्लेख छ। यसअनुसार फल्चा करिब ३२४ पुरानो हो। स्थानीय पाका मानिसहरूका अनुसार ०९० सालको भूकम्पपछि फल्चा हराएको थियो। पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो। त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ।
फल्चा पुनरुत्थानका लागि वडाले १४ लाख ७६ हजार खर्च गरेको छ। १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ। २५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९औँ शताब्दीमा बनाइएको अभिलेख छ। ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो। यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ। संयोजक संगतका अनुसार रावण पाटी पुनर्निर्माणको काम पनि सुरु भइसकेको छ।