मन्त्रीहरूलाई देउवाको निर्देशन–प्रधानमन्त्री र पार्टीको गुनासो नहोस्, परिणाम देखिने काम गर्नुस्

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले परिणाम देखिने काम गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीसँगको छलफललगत्तै पदाधिकारीसहित पार्टीबाट सरकारमा सहभागी १२ जना मन्त्रीसँग अनौपचारिक छलफल गर्दै उनले प्रधानमन्त्री र पार्टीका नेताहरूको गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् । 

सरकार सञ्चालन, सय दिनभित्र गरिने कामका योजनाबारे प्रधानमन्त्री ओलीसँग ‘वन अन वन’ छलफललगत्तै शनिबार राति मन्त्रीहरूलाई राखेर छलफल गरेका देउवाले विगतको सरकारको निरन्तरताको अर्थमा कांग्रेस–एमाले सहभागी सरकारलाई नबुझ्न ध्यानाकर्षण गर्दै जनताले अनुभूति हुने गरी परिणाममुखी काममा मात्र केन्द्रित हुन निर्देशन दिए । अहिलेका मन्त्रीहरूलाई असफल हुने कुनै छुट नरहेको देउवाको भनाइ थियो । देउवाले प्रधानमन्त्री ओलीसँग शनिबार बिहान सरकारको काम र संविधान संशोधनको मुद्दामा केन्द्रित रहेर छलफल गरेका थिए ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले सरकार र पार्टीको स्पिरिटलाई बुझेर प्रधानमन्त्री र पार्टीका तर्फबाट कुनै ‘कम्प्लेन’ नहुने गरी परिणाममुखी काम गर्न निर्देशन दिएको जानकारी दिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्ताबारे देउवाले मन्त्रीहरूलाई ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले सरकारले सय दिनभित्र गरिने कामका लागि सबै मन्त्रालयबाट योजना मागिएको र ती योजना जसरी पनि पूरा गर्नुपर्ने चुनौती रहेकाले त्यसअनुसार सबैले काम गर्नुपर्ने अवस्था रहेको बताएका थिए । 

मन्त्री र राज्यमन्त्रीहरूसँग देउवाले अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वयलगायत विषयमा छलफल गरेका थिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दुई ठूला दल मिलेर सरकार बनेकाले जसरी पनि सफल पार्नुपर्ने र परिणाममुखी काम गर्नुपर्ने चुनौती रहेकाले त्यही गम्भीरताका साथ काम गर्न सभापति देउवाले ध्यानाकर्षणसहित निर्देशन दिएको जानकारी दिए । 

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री छन् । यी सबै मन्त्री र राज्यमन्त्रीले आफूले मन्त्रालय सम्हालेपछि गरेका कामबारे एकसरो ब्रिफिङ गरेका थिए । 
मीन विश्वकर्मा
प्रचार विभाग प्रमुख, कांग्रेस

सरकारको स्पिरिट र पार्टीको स्पिरिट बुझ्नुपर्यो र तालमेल हुनुपर्यो भन्ने आशयले पदाधिकारीसहित सभापतिले शनिबार राति मन्त्रीहरूसँग छलफल गर्नुभएको हो । अहिलेको सरकार विगतको जस्तो होइन । मन्त्रीहरूले प्रधानमन्त्रीलाई पनि सहयोग गर्ने, पार्टीका साथीहरूले पनि कम्प्लेन राख्ने गरी काम नगरौँ भनेर अनौपचारिक छलफल गर्नुभएको हो । उहाँले समुन्नति, सुशासन र पारदर्शितामा जोड दिएर काम गर्न निर्देशन दिनुभयो ।

See More On

सुझावित समाचार