खोलाले बगाउँदा ६५ वर्षीया वृद्धा बेपत्ता

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

रोल्पामा खोलाले बगाउँदा एक वृद्धा महिला बेपत्ता भएकी छिन् । जिल्लाको गंगादेव गाउँपालिकाको सुखाओडार भन्ने ठाउँमा बिहीबार बेलुकी ७ बजेतिर खोलाले बगाउँदा स्थानीय ६५ वर्षीया तुलसी कामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सुखाओडार बजारबाट घर फर्किने क्रममा गोरेटो बाटोबाट करिब दुई मिटर तल लड्न गई खोलामा पुगेपछि उनी बगेर बेपत्ता भएको रोल्पा प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिए।

बेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जिनाबाङबाट प्रहरी सहायक निरीक्षक अमलेशकुमार लोधको नेतृत्वमा नौजनाको प्रहरी टोली खोजी कार्यमा जुटेको थियो । तर, रातिसम्म पनि फेला नपरेपछि शुक्रबार इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट थप प्रहरी परिचालन गरी खोजीकार्य जारी राखिएको प्रहरी निरीक्षक बराकोटीले जानकारी दिए ।
 

सुझावित समाचार