केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपालका अध्यक्ष अमरबहादुर कुँवरलाई तीन प्रश्न

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

दुग्ध किसान र सरकारबीच यसअघि भएको सहमति कति कार्यान्वयन भयो ?
जेजति हुनुपर्ने थियो, त्यति भएन । सरकारले भर्खरै मात्र दुग्ध विकास संस्थानका लागि ६० करोड निकासा गर्ने सैद्धान्तिक सहमति गरेको छ । त्यससँगै थप २५ करोड आउँदा गत वैशाखसम्मको बक्यौतालाई पुग्ला भन्ने हाम्रो अनुमान छ । तर, साउन मसान्तमा पुग्दा वैशाखको पैसा आउने आशामा बस्नुपर्ने अवस्था आउनु लज्जाको विषय हो । सरकारी संस्थानको यस्तो अवस्थाले गर्दा निजी क्षेत्रका ठूला डेरी उद्योगले पनि किसानको बक्यौता तिर्न आलटाल गरिरहेका छन् । 

दुधको बक्यौता उठाउन जहिल्यै यति धेरै सकस किन हुने गरेको होला ?
कुनै पनि मुलुकको निजी क्षेत्रले आफ्नो नाफाबाहेक अर्को केही हेर्दैन । उसलाई अरूको हितको चासो हुँदैन । ऊ यो वा त्यो बहानामा आफूले भुक्तानी गर्नुपर्ने रकम रोकेर त्यसैलाई परिचालन गरी थप नाफा कमाउने ध्याउन्नमा हुन्छ । यहाँ किसान मासिए भने आफ्नो भविष्य के होला भन्ने चिन्ता कसैलाई छैन । उद्योगीहरू जसरी हुन्छ, सोझासीधा किसानलाई शोषण गर्न लागिपरेका छन् । 

यति ठुलो परिमाणको बक्यौता उठाउन अब के गर्नुहुन्छ ?
यस विषयमा छलफल गर्न २ भदौमा दुग्ध विकास बोर्डमा सरोकारवालाहरूको बैठक बस्दै छ । त्यसमा हामी राज्य र उद्योगीका कुरा सुन्छौँ । यो देशमा सरकार छ भने संस्थान र निजी उद्योगको स्टक कति छ, त्यसको प्रभावकारी अनुगमन हुनुपर्छ । सरकारले अनुगमन नगरे अब हामी आफैँ अनुगमन गर्छौं । यो देशमा सबैले किसानलाई हेपिरहेका छन् । अब हामी संघमा मात्र होइन, सबै प्रदेश र उद्योगहरूसमेत घेर्छौं । सधैँको हेपाइ सहेर बस्दैनौँ ।  

सुझावित समाचार