धितोपत्र बजारमा बिहीबार अर्को कीर्तिमान कायम भएको छ। कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज झन्डै रु. ३० अर्बबराबरको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले उकालो लागेर तीन हजार दशमलव ८१ विन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०१ अंकले उकालो लागेर पाँच सय ३५.५१ मा पुगेको छ। कुल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता सेयर रु. २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो।
नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक ९.६४ र एनएमबी बैंकका लगानीकर्ताले ९.४२ प्रतिशतले कमाएका छन्।
यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर ७.२२, शुभम् पावर ७.१०, मिड सोलु हाइड्रोपावर ६.२८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.६८ प्रतिशतले गुमाएका छन्।
नेप्सेका अनुसार बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बिमा र व्यापार उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ। रासस