जम्बो मन्त्रिपरिषद् बनाउने मधेशका मुख्यमन्त्री आठ दिनमै ‘ब्याक’

पार्टीले स्पष्टीकरण सोधेपछि हटाए आठ राज्यमन्त्री

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण
जम्बो मन्त्रिपरिषद् बनाउने मधेशका मुख्यमन्त्री आठ दिनमै ‘ब्याक’

२० साउनमा कांग्रेसका २, जनमत, एमाले र लोसपाका एक–एक सांसदलाई राज्यमन्त्रीमा शपथ खुवाउँदै मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह

मधेशको २० सदस्यीय मन्त्रिपरिषद्मा जनमतबाट मुख्यमन्त्रीसहित ५ (२ मन्त्री र २ राज्यमन्त्री), एमालेबाट ७ (४ मन्त्री र ३ राज्यमन्त्री), कांग्रेसबाट ६ (४ मन्त्री र २ राज्यमन्त्री) र लोसपाबाट २ (१ मन्त्री र १ राज्यमन्त्री) मन्त्री थिए । जम्बो मन्त्रिपरिषद् बनेको भन्दै तीव्र आलोचना भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार आठै राज्यमन्त्रीलाई हटाएका छन् । यससँगै अब मधेशमा १२ सदस्यीय मन्त्रिपरिषद् कायम भएको छ ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएको आठ दिनमै ब्याक भएका छन् । आठ जिल्ला प्रदेश सभामा ६४ निर्वाचन क्षेत्र रहेको मधेशमा जम्बो मन्त्रिपरिषद् बनेको भन्दै तीव्र आलोचना भएपछि मुख्यमन्त्री सिंहले मंगलबार राजधानी काठमाडौं लाग्नुअघि आठै राज्यमन्त्रीलाई हटाएका हुन् । आठ राज्यमन्त्री हटाएसँगै मधेशमा १२ सदस्यीय मन्त्रिपरिषद् कायम भएको छ ।

सिंहले जनमत, एमाले, कांग्रेस र लोसपाबाट राज्यमन्त्री बनेका मोहम्मद जैद आलम, केशव राय, शारदादेवी थापा, रञ्जुकुमारी मण्डल, शम्भु साह, रामबाबु यादव, रेखा ठाकुर र नीलमकुमारी रजकलाई हटाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । मुख्यमन्त्री सिंहले १५ सदस्यीय मन्त्रिपरिषद्लाई गत २२ साउनमा एकैपटक पाँच राज्यमन्त्री थपेर २० पुर्याएका थिए । संविधानतः प्रदेश सभाको सदस्यीय संख्याको २० प्रतिशतसम्म मन्त्रिपरिषद् बनाउन सकिन्छ । मधेशमा एक सय सात सदस्यीय प्रदेशसभा छ । यसरी मधेशमा २१ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिन्छ । तर, केन्द्रमा २५ सदस्यीय मन्त्रिपरिषद् रहेका बेला आठ जिल्ला रहेको प्रदेशमै २० सदस्यीय बनाइएपछि राजनीतिक वृत्तमा पनि चर्काे आलोचना भएको थियो ।

प्रतिपक्षी दल जसपा नेपालका निकट युवा र विद्यार्थी संगठनले आन्दोलन नै गरेका थिए । कुर्सी जुलुस र सिटी जुलुस भएको थियो । चौतर्फी आलोचना भएपछि जनमत नेतृत्वले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण नै सोधेको थियो । पार्टीसँग कुनै समन्वय नगरी मन्त्रिपरिषद् विस्तार तथा सरकारको आवश्यक कामभन्दा उद्घाटन तथा कार्यक्रममा बढी सहभागी हुने गरेको आरोप मुख्यमन्त्री सिंहमाथि थियो ।

मुख्यमन्त्रीमाथि दबाब बढेपछि प्रधानमन्त्री केपी ओलीले एमाले मधेश संसदीय दलका नेता सरोज यादव र मुख्यमन्त्री सिंहलाई फोन गरेर मन्त्रिपरिषद्को संख्या घटाउन भनेका थिए । एमाले संसदीय दलका नेता यादवले गठबन्धन दलबीचको सहमतिमै राज्यमन्त्री हटाइएको बताए । ‘मन्त्रिपरिषद् ठूलो भयो, राज्यमन्त्री नथपौँ भनेर मैले पहिले पनि भनेको थिएँ । अहिले मन्त्रिपरिषद् ठूलो भयो भन्ने कुरा भएपछि हटाएका हौँ,’ उनले भने । काठमाडौं पुगेका मुख्यमन्त्री सिंहसँग टेलिफोन सम्पर्क हुन सकेन । तर, उनको सचिवालयले गठबन्धन दलको सहमतिअनुसार राज्यमन्त्री हटाइएको जनाएको छ । 
 

See More On

सुझावित समाचार