मनसुनका ६५ दिन : विपतकाे क्षति दोब्बर, बाढीपहिरो र चट्याङमा परी १७३ को मृत्यु, ४२ बेपत्ता

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

यस वर्ष मनसुनको पहिलो ६५ दिनमा बाढीपहिरोको घटनामा उल्लेख्य वृद्धि भई धेरै मानवीय क्षति भएको छ । यस अवधिमा बाढीपहिरो र चट्याङमा परी १७३ जनाको मृत्यु भएको छ । ४२ बेपत्ता र २१४ जना घाइते भएका छन् । यो क्षति गत वर्षको दुई महिनाको तुलनामा दोब्बर हो । गत वर्ष २९ साउनसम्म मनसुनजन्य विपत्का ७२१ घटनामा परी ७४ जनाको मृत्यु भएको थियो भने २८ बेपत्ता भएका थिए ।

गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार २८ जेठदेखि २९ साउन (दिउँसोसम्म) बाढीपहिरो र चट्याङका १२५५ घटना भएका छन् । जसमा पहिरोमा १११, बाढीमा ३७ र चट्याङबाट २५ को मृत्यु भएको हो । जसमध्ये सबैभन्दा बढी मानवीय क्षति भएको गण्डकीमा ५४ जनाको ज्यान गएको छ । बागमतीमा ३९, लुम्बिनीमा ३३, कोशीमा २४, सुदूरपश्चिममा ११, कर्णालीमा आठ र मधेशमा चारजनाको मृत्यु भएको छ ।

विपत्मा परी २०५ घर पूर्ण क्षतिग्रस्त बनेका छन् भने १८० घरमा आंशिक क्षति भएको छ । तीन हजार ११५ परिवार प्रभावित भएका छन् । ११९ गोठमा क्षति र ८२२ चौपाया मरेका छन् । १३ पुलमा क्षति पुगेको छ । यस अवधिमा १५ करोड ९६ लाखको भौतिक क्षति भएको आकलन गरिएको छ ।  

यस वर्ष सबैभन्दा ठूलो पहिरोको घटना चितवनको भरतपुरस्थित सिमलतालमा भएको छ । २८ असारमा सिमलतालमा पहिरो खस्दा दुई बस त्रिशूली नदीमा बगेका थिए । ६२ यात्रु नदीमा बगेकामा २४ जनाको मात्र शव फेला परेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

गत वर्ष २९ साउनसम्म पहिरोबाट ४२, चट्याङबाट २१ र बाढीबाट ११ जनाले ज्यान गुमाएका थिए । गत वर्ष दुई महिनामा १०२ जना घाइते भएका थिए । २०६ घर पूर्ण र ६९९ घरमा आंशिक क्षति पुगेको थियो । ४१ गोठमा क्षति हुँदा ४५१ चौपाया मरेका थिए । 

सुझावित समाचार