निर्मला कुर्मी बेपत्ता प्रकरण : मुख्य आरोपी बादशाह मन्त्रीको कुर्सीमा, न्याय खोज्दै अधिकारकर्मी माइतीघर धर्नामा

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

‘निर्मला कुर्मी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बधित अनुसन्धान शीघ्र निरूपण गर्न प्रहरी प्रधान कार्यालयमार्फत बाँके जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने ।’

माथि उल्लेखित बुँदा गृह मन्त्रालय र निर्मला कुर्मी हत्याको विरोधमा आन्दोलनरत रुबी खान पक्षबीच भएको सहमतिको पाँचौँमध्ये पहिलो हो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गत १० असारमा दुई पक्षबीच सहमति भएको थियो । तर, दुर्भाग्य घटनाका मुख्य आरोपी बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गत ९ साउनमा मन्त्री नियुक्त गरे । मुख्यमन्त्रीको यो निर्णयबाट १५ वर्षदेखि न्यायको पक्षमा आन्दोलनरत पक्ष छाँगाबाट खसेझैँ भयो ।

सरकारको निर्णयलगत्तै माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएकी रुबी खानले भनिन्, ‘१५ वर्षको लडाइँपछि बल्ल घटनाको अनुसन्धान भएको थियो । हामीलाई लागेको थियो, अब निर्मलाले न्याय पाउनेछिन् । घटनाका दोषी कानुनी कठघरामा उभिनेछन् । तर, त्यसो भएन । मुख्य आरोपीलाई नै सरकारले मन्त्री नियुक्त गरेर पुरस्कृत गरिदियो । यो निर्णयबाट हामी छाँगाबाट खसेझैँ भएका छौँ ।’

रुबी खानसहितको टोलीले गत २५ साउनबाट माइतीघर मण्डलाबाट पाँचौँ चरणको आन्दोलन सुरु गरेका छन् । कलंकीमा बस्दै आएका उनीहरू प्रत्येक दिन बिहानको ठीक १० बजे मण्डला आइपुग्छन् । चर्को घाम र दर्के झरीमा रुझ्दै दिनभर धर्ना कस्छन् । साँझ ६ बजे पैदलै हिँडेर कलंकीस्थित बासस्थान पुग्छन् । ‘हामीले २५ साउनबाट पाँचौँ चरणको आन्दोलन सुरु गरेका छौँ । विगतमा झैँ यसपटक पनि हामी कलंकीमा बस्दै आएका छौँ । पैदलै हिँडेर बिहान १० बजे मण्डला आइपुग्छौँ । दिनभर धर्ना बस्छौँ । र, साँझ पैदलै हिँडेर बासस्थान पुग्छौँ । यो क्रम अब कहाँ पुगेर टुंगिन्छ थाहा छैन,’ अधिकारकर्मी खानले भनिन् ।

आन्दोलनलाई पाँचौँपटक निरन्तरता दिँदै रुबीसहितका अधिकारकर्मी चार दिनदेखि माइतीघर मण्डलमा धर्नामा छन् । दबिएका र दबाइएका आवाज सुनाउन उनीहरू नेपालगन्जदेखि पुनः सिंहदरबारनजिक मण्डलामा आएका हुन् । साइरन र रातोबत्ती बलेको गाडी धर्नालाई दायाँ र बायाँ लगाउँदै दैनिक कुद्छन् । तर, निर्मलाको न्यायको पक्षमा उभिएका उनीहरू न्याय दिलाएरै छाड्ने अठोट लिएर आफ्नो विचारमा अडिग छन् ।

पटक–पटक धर्ना र आन्दोलनबाट पार नलागेपछि रुबीसितको टोली दुई वर्षअघि खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेको थियो । यो क्रमलाई टोलीले यसपटक पनि निरन्तरता दिएको छ । धर्नामा उत्रिएका उनीहरू खाली खुट्टा नै हिँडेर मण्डला आउँछन् । र फर्कँदा पनि खाली खुट्टा प्रयोग गर्छन् । ‘खाली खुट्टा हाम्रो आन्दोलनको बिम्ब नै बनिसक्यो । यसलाई हामीले अहिले पनि निरन्तरता दिएका छौँ । हाम्रो पीडा एकातिर छ । तर, यो पीडा निर्मलाले १५ वर्षसम्म पनि नपाएको न्यायभन्दा धेरै गुणा कम छ । खाली खुट्टाबाट सुरु गरिएको थियो हाम्रो संघर्ष । निष्कर्ष पनि खाली खुट्टाकै आन्दोलनबाट निकाल्छौँ । निर्मलालाई न्याय दिने यो हाम्रो दृढ संकल्प हो । यसपटक हामी खाली हात फर्कन्नौँ,’ उनले भनिन् ।

त्यसपछि बेपत्ता भइन् निर्मला कुर्मी 

बाँकेको नेपालगन्जमै छ, नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र । जसअन्तर्गत छ, महिला दबाब समूह । ०६५ आसपास रुबी खान चेतना केन्द्रमै थिइन् । १० दिनको फरकमा दुई छोरा गुमाएपछि आहत बनेकी निर्मला निवेदन बोकेर केन्द्र आएको उनले देखिन् । खानका अनुसार निर्मला केन्द्रमा आएको खबर गाउँमा फैलियो । उनका सँधियार बादशाह कुर्मी केन्द्रमा आए । निवेदन दिएको कारण देखाउँदै बादशाहले निर्मलाको किलकिले अँठ्याए । सास रोकिएपछि निर्मला भुइँमै ढलिन् । बादशाहका बलिष्ठ हातले कुर्मीको किलकिले अँठ्याइ नै रह्यो । जुरुक्कै उचालेर लछार्दै घर लगे र बन्धक बनाए । 

घटनाबारे प्रहरीमा खबर भयो । तर, प्रहरीले आउने छाँट देखाएन । बाँके जिप्रकाको दबाबपछि बल्ल प्रहरी घटनास्थल पुग्यो । प्रहरीले बन्धक निर्मलालाई तत्कालका लागि मुक्त त गर्यो, तर उनका निम्ति थप दुर्दिन त्यहीँबाट सुरु भयो । बादशाह र निर्मला सँधियार हुन् । जग्गा मिच्नेदेखि अनाहकमा यतना दिएपछि निर्मला पुनः चेतना केन्द्र पुगिन् । यो खबरले बादशाह झन् क्रुद्ध बने । त्यसैवेलादेखि बेपत्ता निर्मलाको हालसम्म अत्तोपत्तो छैन । 

उल्लेखित माथिका घटना ०६६ को हो । निर्मलाको दोषीलाई सजाय दिने उद्देश्यले रुबी न्यायको पक्षमा उभिएकी त्यहीँदेखि हो । यो क्रम यद्यपि जारी छ । तर, अहिलेसम्म न निर्मला फेलापरेकी छिन्, न दोषीमाथि नै कारबाही भएको छ । उल्टै कांग्रेसले बाँके ३ (२) बाट विजयी बादशाह कुर्मीलाई गत ९ साउनमा मन्त्री बनाएर पुरस्कृत गर्यो । 

चौथोपटकको कठिन आन्दोलनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मार्फत घटनाको अनुसन्धान भयो । सिआइबीले गत मंसिरमै अनुसन्धान सकेर प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरेको छ । प्रधान कार्यालयले पनि मुद्दा सरकारी वकिल कार्यालय बाँकेमा पेस गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाँकीमा पठाइसकेको छ । तर, मुद्दा अझै सरकारी वकिल कार्यालयमा दर्ता हुन सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने घटनाको अनुसन्धान जारी रहेको जानकारी दिए । ‘निर्मला कुर्मीलाई न्याय दिने पक्षमा सरकार गम्भीर छ । यस विषयमा आन्दोलनरत पक्षसँग सम्झौता पनि भएका छन् । घटनाको अनुसन्धान पनि भएका छन् । केही हुँदै पनि होलान् । मुद्दा सरकारी वकिल कार्यालय हुँदै अदालतमा पेस गर्ने विषयमा भने मलाई त्यति जानकारी छैन,’ उनले भने ।

सुझावित समाचार