नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पोको तयारीलाई तीव्रता दिएको छ । मोरङको कटहरी गाउँपालिका– १ मा रहेको कृषिथोक बजारमा २७ देखि ३० भदौसम्म आयोजना हुने कृषि मेला तयारीलाई महासंघले तीव्रता दिएको हो ।
एक्स्पो सफल बनाउन प्रदेशका विभिन्न जिल्लामा उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, नगरपालिकाका प्रमुख तथा प्रतिनिधि, कृषि व्यवसायी तथा कृषकसँग अन्तक्र्रिया कार्यक्रम भइसकेको आयोजकले जनाएको छ । विगतमा काठमाडौं र चितवनमा मात्र सीमित र कृषि एक्स्पो पहिलोपटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गर्न लागेको हो । उक्त एक्स्पोमा प्रदेश सरकार, कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्विस सरकार विकास सहयोगको प्रवद्र्धन र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) अनि कटहरी गाउँपालिकाको सहकार्य हुनेछ ।
महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार एक्स्पोमा कृषिका नवीन प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपक्षीका दाना, भेटेरिनरी र कृषि औजारको प्रदर्शनी हुनुका साथै कृषिसम्बन्धी जानकारी गराउन विज्ञहरूको थलो बनाई आधुनिक कृषि व्यवसायका लागि जोड दिइनेछ ।
एक्स्पोले कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषकले उत्पादन गरेका वस्तुहरूको उद्योग स्थापना गर्न प्रेरित गर्ने गरी कृषक र उद्योगीहरूबीच समन्वय गराउने अध्यक्ष राउतले बताए । एक्स्पोमा जिल्लाबाहिरबाट अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था हुने राउतले जानकारी दिए ।