काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता भएका खेलाडीलाई पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको ०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो।
राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ खेलाडीले जनही तीन लाख रुपैयाँ पाउनेछन्। यस्तै, प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउनेछन्।
साउन १७ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो। यस्तै सेमिफाइनलमा इरानलाई पराजित गरी फाइनल पुगेको नेपाली टिम भारतसँग पराजित हुँदा दोस्रो भएको हो।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए।