बागमतीमा लम्पीविरुद्धको खोप अभियान सुरु, ७६ हजार गाईभैँसीलाई खोप लगाइँदै

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले गाईभैँसीमा लाग्ने संक्रामक रोग लम्पीविरुद्ध शुक्रबारबाट अभियान सुरु गरेको छ । साताव्यापी रूपमा चल्ने अभियानको प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गरेका छन् । उनले मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एउटा गाई फार्ममा पुगेर अभियानमा सहभागी भएका पशु स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै अभियानको सुरुवात गरेका हुन् ।

मन्त्री श्रेष्ठले अभियानको सुरुवात गर्दै यस अभियानले विगतमा लम्पी रोगका कारण किसानले भोग्नुपरेको आर्थिक क्षति यसपटक भोग्नुनपर्ने दाबी गरे । उनले प्रदेशका ७६ हजार २७५ गाईभैँसीमा खोप लगाउने लक्ष्य राखेको उल्लेख गर्दै खोप पर्याप्त नभए पनि लम्पीको संक्रमण फैलिनबाट रोक्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताए । गत आवमा लम्पी स्किन रोगको संक्रमबाट बागमती प्रदेशमा ११ हजारभन्दा बढी गाईभैँसीको मृत्यु भएपछि यस वर्ष प्रदेश सरकारले रोग लाग्न सुरु हुनुअघि नै लम्पीविरुद्धको खोप अभियान सुरु गर्न लागेको हो । 

प्रदेश सरकारले आजबाट ३१ साउनसम्म प्रदेशका १३ वटै जिल्लामा अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गर्दै छ । प्रदेश सरकारले मन्त्रालयले मातहतका पशु सेवा कार्यालयहरूमार्फत लम्पी स्किनविरुद्धको ६२ हजार ९७५ डोज खोप लगाउने तयारी गरेको प्रदेश सरकारले १३ जिल्लाका लागि ३७६ जना भ्याक्सिनेटर परिचालन गरेको जनाएको छ ।

यसका लागि मन्त्रालयले मकवानपुरका लागि सात हजार पाँच सय डोज खोप लगाउन ६२ भक्सिनेटर, ललितपुरका लागि आठ हजार ३२५ डोज खोप लगाउन ५४ भक्सिनेटर, नुवाकोटका लागि ११ हजार डोज खोप लगाउन २५ भक्सिनेटर, धादिङका लागि ६ हजार नाै सय डोज खोप लगाउन ४२ भक्सिनेटर, चितवनका लागि आठ हजार डोज खोप लगाउन १३ भक्सिनेटर, दोलखाका लागि पाँच हजार डोज खोप लगाउन २५  भक्सिनेटर, काभ्रेका लागि आठ हजार डोज खोप लगाउन ९५ भक्सिनेटर, सिन्धुलीका लागि आठ हजार २५० डोज खोप लगाउन ६० भक्सिनेटर सम्बन्धित पशु सेवा कार्यालयहरूबाट नियुक्त गरिएको छ ।

अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ७६ हजार २७५ पशुमा खोप लगाउने लक्ष्य मन्त्रालयले लिएको जानकारी दिँदै मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले प्रदेशमा रहेका १० लाख ११ हजार १३६ गाई र आठ लाख ३२ हजार १९३ भैँसीलाई लम्पी रोगको संक्रमण हुन नदिन वार्षिक  कार्यक्रमअन्तर्गत नै खोप अभियानलाई अघि बढाएको बताए ।

सुझावित समाचार