१० वर्षमा त्रिभुवन विमानस्थलबाट मात्रै भित्रियो सवा दुई अर्बको कोकिन

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

बरामदमध्ये २८ प्रतिशत कोकिनको गन्तव्य दिल्ली, विगतमा नेपाल हुँदै हङकङ पनि पुर्याइन्थ्यो 

कतारको दोहा हुँदै नेपाल आएका लाटभियाली नागरिक ५१ वर्षीय इभरास भाल्टेस बुधबार ६.२४ केजी कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । बालबालिकाले खेल्न प्रयोग गर्ने गुडियाभित्र लुकाएर कोकिन भित्र्याएको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरोले उनलाई पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलबाट कोकिन भित्रिएको यो नै पहिलो भने होइन । पछिल्लो डेढ महिनामा मात्रै ४४ करोड रुपैयाँबराबरको कोकिन त्रिभुवन विमानस्थलबाटै बरामद भएको छ । ब्युरो प्रमुख एसएसपी दिनेश आचार्यका अनुसार गत २ जेठदेखि बुधबारसम्म १३.०९१ केजी कोकिन बरामद भएको हो । 

‘कतार एयरवेजको जहाज हुँदै विदेशी नागरिक कोकिनसहित नेपाल आउँदै गरेको सूचना थियो । सोही सूचनापछि प्रहरी निगरानीमा थियो । नभन्दै एक लाटभियाली नागरिकको गतिविधि शंकास्पद देखियो । उनको सुटकेस खनतलासी गर्दा गुडिया भेटियो । उधिनेर हेर्दा त्यसभित्र ६.२४ केजी कोकिन फेला पर्यो,’ एसएसपी आचार्यले भने । 

लाटभिया उत्तरपूर्वी युरोपियन मुलुक हो । कोकिनसहित पक्राउ परेका इभरास तस्करी गर्ने उद्देश्यले नै लाटभियाबाट फ्रान्स हुँदै कतार पुगेका थिए । उनलाई कतारमा अफ्रिकी मूलका नागरिकले क्याप्सुलको आकार दिइएको कोकिन नेपाल लैजान भन्दै दिएका थिए । प्रहरीका अनुसार कतारमा भने उक्त कोकिन दक्षिण अमेरिकी मुलुकबाट निलेर ल्याइएको थियो । पक्राउ परेका इभरासको आर्थिक अवस्था नाजुक रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनको सोही अवस्थालाई लागुऔषध तस्करले प्रयोग गरेको अनुसन्धानबाट देखिने ब्युरो प्रमुख आचार्यले बताए । 

उनले भने, ‘कोकिनसहित पक्राउ परेका इभरासको आर्थिक अवस्था बलियो देखिँदैन । उनको यही अवस्थालाई तस्करले दुरुपयोग गरेको देखिन्छ । उनलाई कमिसन दिने प्रलोभनमा लाटभियाबाट फ्रान्स हुँदै कतार ल्याइएको देखिन्छ । नेपालपछि बरामद कोकिन भारत लैजाने योजना रहेको देखिन्छ ।’

ब्युरोले गत २ जेठमा विमानस्थल हुँदै नेपाल भित्रिएका तान्जानियाली नागरिक डोनाल्ड ज्याक्सन मबुगालाई १.२०६ केजी कोकिनसहित ठमेलस्थित होटेलबाट पक्राउ गरेको थियो । त्यसपछि ३० जेठमा बोलिभियाली नागरिक ३३ वर्षीय लाउरा क्रुज टिकोनालाई २.१०० केजी कोकिनसहित भन्सार विमानस्थल कार्यालयबाट पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि १ असारमा विमानस्थलबाटै नेपाल भित्रिएका अर्का भेनेजुयाली नागरिक २९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जा राडा पनि १.१९८ केजी कोकिनसहित ठमेलबाट पक्राउ परेका थिए । ब्युरोका अनुसार करिब डेड महिनामा विमानस्थल हुँदै भित्रिएको मात्रै १३.०९१ केजी कोकिन बरामद भएको छ । जसको अवैध बजारमूल्य ४४ करोड २२ लाख ४० हजार १६२ रुपैयाँ पर्छ । 

यसकारण नेपाल ‘ट्रान्जिट’ बनाएर दिल्लीमा सबैभन्दा धेरै तस्करी
लागुऔषध नियन्त्रणका लागि दिल्ली पुलिसमातहत एउटा शाखा छ, एन्टी नार्कोटिक्स टास्क फोर्स (एएनटिएफ) । जसले दिल्ली आधारभूमि बनाएर लागुऔषधसम्बन्धी अध्ययन गरेको थियो । अध्ययनबाट लागुऔषध कारोबार र दुर्व्यसनीको ६४ वटा ‘हट स्पट’ पहिचान भए । जसमध्ये चार ‘स्पट’ कोकिन कारोबारका लागि कुख्यात थिए । एएनटिएफको अध्ययनअनुसार दिल्लीमा कोकिनको चार ‘हट स्पट’ छत्तरपुर, मोहन गार्डेन, नवदा र उत्तमनगर हुन् । जुन दिल्लीको दक्षिण र पूर्वतर्फ पर्छ । उक्त क्षेत्रमा कोकिनका साथै ‘सिन्थेटिक ड्रग’को पनि कारोबार हुने गर्छ । अध्ययनअनुसार उक्त क्षेत्रमा सबैभन्दा धेरै विदेशी नागरिक बस्छन् । उनीहरूमध्ये केही कोकिनको कारोबारी छन् भने केही दुर्व्यसनी । अवैध ढंगले बस्ने ती विदेशी नागरिकलाई भारत सरकारले पटक–पटक देश निकाला पनि गरेको छ । तर, कोकिनको कारोबार रोकिएको छैन । 

एएनटिएफको अध्ययनअनुसार दिल्लीका यी सहरमा कोकिन कारोबार पछिल्ला दिन अझ मौलाएको थियो । तथ्यांकअनुसार सन् २०२१ मा दिल्लीमा एक केजी मात्रै कोकिन बरामद भएको थियो । सन् २०२२ मा यो परिमाण बढेर तीन किलो पुग्यो । सन् २०२३ को सुरुवाती चार महिनामै परिमाण बढेर १५ केजी पुग्यो । नेपाल प्रहरीका अनुसार नेपाल ‘ट्रान्जिट’ भएर दिल्ली पुग्ने कोकिन दिल्लीबाट युरोपसम्म पनि पुग्छ । दक्षिण अमेरिकी मुलुकबाट भने अफ्रिका हुँदै नेपाल आइपुग्छ । दिल्लीबाट जहाजमै युरोप पुर्याइने गरिएको प्रहरी बताउँछ ।

१० वर्षमा कोकिन बरामदका २४ अपरेसन
लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला १० वर्षमा कोकिन बरामदका २४ अपरेसन गरेको छ । यी अपरेसनमा ६५.७३६ केजी कोकिन बरामद भएको छ । जसको अवैध बजारमूल्य दुई अर्ब २२ करोड ६ लाख ९३ हजार ५५२ रुपैयाँ पर्छ । यी अपरेसनमा २९ अभियुक्त पक्राउ परेका छन् । ब्युरोका अनुसार बरामदमध्ये १८.३१ केजी कोकिनको गन्तव्य दिल्ली थियो । यो कुल बरामद परिमाणको २७.८६९ प्रतिशत हो । जसको अवैध बजारमूल्य ६१ करोड ८८ लाख ८५ हजार ८४ रुपैयाँ पर्छ । 

नेपाल ‘ट्रान्जिट’ बनाएर तस्कर हुने कोकिन दिल्ली मात्रै होइन, विगतमा हङकङ पनि पुर्याइन्थ्यो । २४ मध्ये सात अपरेसनमा बरामद १३.३६१ केजी कोकिनको गन्तव्य हङकङ थियो । यो कुल बरामद परिमाणको २०.३२६ प्रतिशत हो । जसको अवैध बजारमूल्य ४५ करोड १३ लाख ७८ हजार १७० रुपैयाँ पर्छ । तर, पछिल्ला चार वर्षयता भने नेपाल ‘ट्रान्जिट’ भएर कोकिन हङकङ पठाएको देखिएको छैन । बाँकी ३४.०५४ केजी भने नेपाल, थाइल्यान्ड, इटाली र पाकिस्तानका लागि तस्करी भएको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ । यो कुल बरामदको ५१.८०५ प्रतिशत हो । जसको अवैध बजारमूल्य एक अर्ब १५ करोड ४ लाख ३० हजार २९४ रुपैयाँ पर्छ ।

युएनओडिसीले गरेको वर्ष दिनको अपरेसनमा २४ खर्ब ६८ अर्बको ९८ टन कोकिन बरामद 
कोकिनका दुर्व्यसनीले सहर आक्रान्त हुन थालेपछि संयुक्त राष्ट्रसंघअन्तर्गत युनाइटेड नेसन अन ड्रग एन्ड क्राइम (युएनओडिसी)ले ५८ मुलुकको संयुक्त प्रयासमा ‘अपरेसन टिन क्यान’ चलायो । ९ डिसेम्बर ०२२ देखि ०२३ अप्रिलसम्म चलेको अपरेसनमा ४३ अन्तर्राष्ट्रिय कारोबारी पक्राउ परे । सम्बन्धित मुलुकको भन्सार, प्रहरी तथा अन्य सरोकारवाला निकायको संयुक्त प्रयासमा भएको अपरेसनपछि कोकिनसँग सम्बन्धित १५८ घटना अनुसन्धान भए । जसबाट ९८ हजार ७३४ किलो कोकिन बरामद भयो । जसको अवैध बजारमूल्य २४ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ हुन आउँछ । यो अपरेसनमा वर्ल्ड कस्टम अर्गनाइजेसन, युएनओडिसी र अस्ट्रेलियन बोर्डर फोर्सको प्रत्यक्ष सहभागिता थियो ।

See More On

सुझावित समाचार