एकैदिन कञ्चनपुरमा तलाउमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। भीमदत्त नगरपालिकाका एक बालक र शुक्लाफाँटा नगरपालिकाकी एक बालिकाको मृत्यु भएको हो । एक बालिका घाइते भएकी छिन् ।
बुधबार साँझ गाउँघरनजिकै बालक र बालिकाले डुबेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले भीमदत्त नगरपालिका– १९ बागफाँटाका पाँच वर्षीय सुर्जित राना र शुक्लाफाँटा नगरपालिका– ४ आशापुरकी १३ वर्षीया विपना चुनाराको मृत्यु भएको बताए । विपनासँगै डुबेकी १३ वर्षीया बालिका दीपिका सुनार घाइते भएकी थिइन्। विपनाले पानी खाएकाले उनको पेटभित्र रहेको पानी निकालेपछि सन्चो भएर घर फर्किएको जनाइएको छ ।
शुक्लाफाँटा नगरका बालिकाद्वय विपना र दीपिका घरनजिकै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए । स्थानीयले देखेपछि विपना र दीपिकालाई पाेखरीबाट निकालेका थिए। घरनजिकै रहेको तलाउमा डुबेका सुर्जित रानालाई उनकै आमाले देखेपछि उद्धार गरेर उपचारका लागि महाकाली अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसरी एकैदिन दुई बालबालिकाको डुबेर मृत्यु र अर्की बालिका घाइते भएको घटनाले मृतक परिवार शोकमा डुबेका छन् । बर्खाका वेला सामान्य पोखरी, तलाउ, जमेको पानी, खोला तथा नदीमा नुहाउने, पौडी खेल्नबाट सचेत रहनसमेत स्थानीय सरकारले आह्वान गरेका छन् ।