चार चिनियाँ राखेर क्याप्टेन अरुण मल्लले उडाएको एयर डाइनेस्टीको हेलिकोप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीतर्फ जाँदै थियो, नुवाकोटको शिवपुरी क्षेत्रमै दुर्घटनामा पर्दा सबैको निधन
एयर डाइनेस्टीका क्याप्टेन अरुण मल्ल चार चिनियाँ नागरिक बोकेर बिहीबार दिउँसो १:५५ बजे रसुवाको स्याफ्रबेँसीका लागि उड्दा त्रिभुवन विमानस्थलवरिपरि ६ हजार मिटर भिजिबिलिटी थियो । भिएफआर (भिज्युअल फ्लाइट रुल) उडानका लागि पाँच हजार मिटर भिजिबिलिटी भए पुग्छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भिएफआर उडानका लागि काठमाडौंको मौसम बाधक थिएन ।
चिनियाँ नागरिकलाई स्याफ्रुबेँसीमा झारेर त्यहाँबाट ६ पर्यटकलाई काठमाडौंमा ल्याउनुपर्ने जिम्मा क्याप्टेन मल्ललाई थियो । ती पर्यटक मनसरोवर धार्मिक यात्रा सिध्याएर स्याफ्रुबेँसी आइपुगेका थिए । क्याप्टेन मल्लले तीन–तीनजना गरेर दुई उडानमा उनीहरूलाई काठमाडौं ल्याउने योजना थियो ।
तर, त्रिभुवन विमानस्थल छाडेर टोखापास हुँदै शिवपुरी क्षेत्र पुग्दा १:५८ बजेसम्म काठमाडौं टावरकै सम्पर्कमा रहेको ९एन एजेडी कलसाइन हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिकास्थित पहाडतर्फ प्रवेश गरेपछि सम्पर्कविहीन भयो । त्रिभुवन विमानस्थल कार्यालयले एयर डाइनेस्टीकै फ्रिक्वेन्सीमार्फत सम्पर्क गर्न भन्यो, त्यहाँ पनि सम्पर्क भएन । भिटु ट्र्याकरबाट हेर्दासमेत हेलिकोप्टर नदेखिएपछि क्र्यास भएको अनुमान लगाउन थालियो । त्यसको केही समयमै हेलिकोप्टर दुर्घटना भएको खबर आउन थालिसकेको थियो । खबर पाएपछि त्रिभुवन विमानस्थलबाट प्रभुको हेलिकोप्टर रेस्क्युका लागि पठाइयो । प्रभुको हेलिकोप्टर त्यहाँ पुग्दा दुर्घटनास्थलमा आगो बलिरहेको थियो भने स्थानीय र सुरक्षाकर्मी घटनास्थल पुगिसकेका थिए ।
शिवपुरी क्षेत्रमा लागेको बाक्लो कुहिरोका कारण ‘भिजिबिलिटी’ नपुगेपछि क्याप्टेन मल्लले हेलिकोप्टर काठमाडौं वा स्थानीय सूर्यचौर हेलिप्याडमै ल्यान्ड गर्ने गरी फर्काउने क्रममा रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । शिवपुरी गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङले भने, ‘यहाँ निकै बाक्लो कुहिरो लागेको थियो । भिजिबिलिटी कम भएपछि हेलिकोप्टर अगाडि नबढाई शिवपुरी– ७ स्थित सूर्यचौर हेलिप्याडमै बिसाउन खोजेजस्तो देखिन्छ । हेलिप्याडनजिकै रहेका रुख हेलिकोप्टरका पंखाले काटिएको देखिन्छ । त्यसपछि जमिनमा धसिँदै तल झरेको देखिन्छ । अवस्था हेर्दा भिजिबिलिटीकै कारण दुर्घटना भएजस्तो देखिन्छ । दुर्घटनाग्रस्त क्षेत्रमा बुधबार रातिसम्म पनि कुहिरो हटेको छैन ।’ उपाध्यक्ष तामाङका अनुसार गोसाइँकुण्ड जाने सिजनमा सूर्यचौर हेलिप्याडमा हेलिकोप्टरहरू बिसाउने गरिएका थिए । उक्त हेलिप्याड शिवपुरी राष्ट्रिय निकुञ्ज सकिएलगत्तै आउँछ ।
क्यानका सूचना अधिकारी भुलले पनि कुहिरोका कारण भिजिबिलिटीमा समस्या हुँदा हेलिकोप्टर दुर्घटनामा परेको हुन सक्ने बताए । ‘प्राप्त सूचनाअनुसार शिवपुरी क्षेत्रको मौसम खराब रहेछ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम रहेछ । हेलिकोप्टर रुखमा ठोक्किएर झाडीमा खसेको देखिन्छ । किन र कसरी दुर्घटना भयो छानबिनपछि थाहा होला,’ उनले भने, ‘५८ वर्षका सिनियर पाइलटले हेलिकोप्टर उडाएका थिए । अरुण मल्ल साढे ६ हजार घण्टा हेलिकोप्टर उडाइसकेका अनुभवी क्याप्टेन हुन् ।’
नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले पनि दुर्घटना क्षेत्रमा बाक्लो कुहिरो रहेको रिपोर्ट प्राप्त भएको बताए । ‘उद्धारमा खटिएको प्रहरी टोलीका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा बाक्लो कुहिरो लागेको भन्ने छ,’ उनले भने । प्रहरीका अनुसार दुर्घटनामा क्याप्टेन मल्लसहित चिनियाँ नागरिकहरू जुताओ ताङ, जि ली, यियाओ उ र जिमिङ झीको मृत्यु भएको छ । पाँचैजनाको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रविकुमार पौडेलले बिहीबार मृतकको पोस्टमार्टम हुने बताए । यसैबीच पर्यटनमन्त्री बद्री पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्च प्राथमिकतामा राख्दै तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थाल्ने पनि बताएका छन् ।
दुर्घटना जाँचबुझ गर्न आयोग गठन, ३० दिन समय
सरकारले सूर्यचौरमा भएको हेलिकोप्टर दुर्घटनाको सत्यतथ्य जाँचबुझका लागि तीन सदस्यीय आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ क्याप्टेन सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको हो । सिम्रिक एयरका मेन्टिनेन्स म्यानेजर विष्णुकान्त बस्न्यात आयोगका सदस्य र पर्यटन मन्त्रालयका सिडिई एरोनटिकल तनुजा पोखरेल सदस्यसचिव छन् । सत्यतथ्य जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन बुझाउन आयोगलाई ३० दिनको समय दिइएको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
साढे ६ हजार घण्टा उडान भरेका अनुभवी पाइलट जाे तीन दुर्घटनामा जोगिए, चौथोमा अस्ताए
क्याप्टेन अरुण मल्ल हेलिकोप्टर उडानमा अनुभवी थिए । पटक–पटक दुर्घटनामा परेर पनि जोगिएका थिए । उनीसँग ६ हजार ३३० घण्टा हेलिकोप्टर उडाएको अनुभव थियो । तर, बुधबार सूर्यचौर दुर्घटनामा उनी आफ्नै अनुभव र अभ्याससँग पराजित भए ।
युद्धकालमा उनले उडान भरेको कर्णाली एयरको हेलिकोप्टर माओवादी लडाकुको निशानामा परेको थियो । कर्णाली उडानका क्रममा लडाकुले प्रहार गरेको गोली हेलिकोप्टर छेडेर बाहिर निस्किएको थियो । तर, क्याप्टेन मल्ल जोगिएका थिए ।
त्यस्तै, एयर डाइनेस्टीका प्रतिनिधिका अनुसार ०७० असोजमा मल्लले काठमाडौंबाट तीन यात्रु बोकेर लुक्लाका लागि उडान गरेको हेलिकोप्टर पनि दुर्घटनामा परेको थियो । लुक्ला विमानस्थलको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेकोमा उनीसहित सबै यात्रु सकुशल रहेका थिए ।
८ अप्रिल २०२३ मा एयर डाइनेस्टीकै हेलिकोप्टर काठमाडौंको ह्याम्स अस्पतालको छतमा अवतरण गर्ने क्रममा ‘टेल स्ट्राइक’ भएको थियो । दुर्घटनामा हेलिकोप्टरको पछिल्लो भाग (पुच्छर) खसे पनि क्याप्टेन मल्ल सकुशल थिए । यसरी विभिन्न दुर्घटनाबाट जोगिएका उनी बुधबार भने सधैँका लागि अस्ताए । ५८ वर्षका क्याप्टेन मल्ल दुई वर्षपछि सेवाबाट अनिवार्य अवकाशमा जाँदै थिए ।
४५ वर्षमा ४३ हेलिकोप्टर दुर्घटना : २३ दुर्घटनामा मानवीय क्षति, १०७ को निधन
सन् २०२३ मा मात्रै पाँच हेलिकोप्टर दुर्घटना, वार्षिक औसत एक दुर्घटना
नेपाली आकाशमा साढे चार दशकको अवधिमा ४३ हेलिकोप्टर दुर्घटना भएका छन् । यीमध्ये २३ दुर्घटनामा मानवीय क्षति भएको छ । दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १०७ जनाले ज्यान गुमाएका छन् भने तीन दर्जनभन्दा धेरै घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । नेपालमा मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा रसुवाको लाङटाङ क्षेत्रमा भएको थियो । अतिविशिष्ट व्यक्ति (भिभिआइपी) सवार सो हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको क्यानले जनाएको छ । ३० सेप्टेम्बर १९९७ मा थुप्तेन चोलिङमा कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका थिए । २४ अक्टोबर १९९८ मा मूलखर्कमा तीनजनाको ज्यान जाने गरी एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो ।
सन् २००० यता मात्रै ३४ हेलिकोप्टर दुर्घटनामा परेका छन्, तर सबैमा मानवीय क्षति भने भएको छैन । १२ नोभेम्बर २००१ मा राजपरिवारका सदस्यहरू चढेको फिस्टेल एयरको हेलिकोप्टर मुगुको रारा तालमा खस्दा चारजनाको निधन भएको थियो । रहस्यमय रूपमा रारामा खसेको हेलिकोप्टर अझै भेटिएको छैन । त्यस्तै, ३० सेप्टेम्बर २००२ मा ११ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो । २८ मे २००३ मा सिम्रिक एयर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजना र ४ जनवरी २००५ मा एयर डाइनेस्टी रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो । त्यस्तै, २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा २४ जनाको निधन भएको थियो । नेपाली आकाशमा सबैभन्दा धेरै मानवीय क्षति भएको हेलिकोप्टर दुर्घटना यही हो ।
१५ नोभेम्बर २००९ मा मनाङ हेलिकोप्टर रोडिकोट हुम्लामा दुर्घटना हुँदा एक इन्जिनियरको ज्यान गयो । ७ नोभेम्बर २०१० मा फिस्टेल हेलिकोप्टर आमादब्लम हिमालमा दुर्घटनामा पर्दा दुईजना, १९ जुन २०१३ मा सिमिकोटमा र ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा फिस्टेलका हेलिकोप्टर दुर्घटना हुँदा एक–एकजनाको मृत्यु भएको थियो । त्यस्तै, १२ मे २०१५ मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको ‘युएस मरिन कप्र्स’ हेलिकोप्टर दुर्घटना हुँदा आठजनाको ज्यान गएको थियो । त्यस्तै, २ जुन २०१५ मा सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर दुर्घटना हुँदा चारजना, ८ अगस्ट २०१६ मा फिस्टेल नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा सातजना, १४ अगस्ट २०१८ मा मनाङ एयर हुम्लाको हिल्सामा दुर्घटना हुँदा एकजना र ८ सेप्टेम्बर २०१८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यस्तै, २७ फेबु्रअरी २०१९ मा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको ज्यान गएको थियो । दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, यती ग्रुपका आङछिरिङ शेर्पालगायतको ज्यान गएको थियो ।
यस्तै, ५ मे २०२३ मा सिम्रिक एयर संखुवासभाको भाटखोलामा दुर्घटना हुँदा एकजना, ११ जुलाई २०२३ मा मनाङ एयर लामाजुरा सोलुखुम्बुमा दुर्घटना हुँदा ६ जना, १४ अक्टोबर २०२३ मा मनाङ एयरकै हेलिकोप्टर लोबुचे सोलुखुम्बुमा दुर्घटना हुँदा एक (पाइलट)को मृत्यु भएको थियो । लोबुचे दुर्घटनामा घाइते पाइलट प्रकाश सेढाईंको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा ज्यान गएको थियो । बुधबार मानवीय क्षति हुने गरी नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टी दुर्घटनामा परेको छ । यो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।