बर्खाको भेल र बाढीपहिरोले चीनसँगको अन्तर्राष्ट्रिय सीमा जोड्ने कोदारी राजमार्ग तहसनहस पारेको छ। गत असार ३० गते बाह्रबिसेको खोर्सानीबारीस्थित खागदल खोलाले पुल बगाएपछि सडक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ। पुल बगाएको महिना दिन पुग्न लाग्यो। तर, पुनर्निर्माणमा थप केही प्रगति भएको छैन ।
मेलम्ची–भोताङ सडकखण्ड २० दिनदेखि बन्द छ । भिरमा वनस्पतिको लहरा समातेर बाटो क्रस गर्नुपर्ने अवस्था छ। लार्के खोलाको विध्वंसले यांग्री, चिण्डे, जतन, तिपेनी बजार, माजरुम्टी र खाल्डेखोला तटीय क्षेत्रका बस्ती विस्थापित भएका छन् । बाढीपीडित स्थानीयको समस्या समाधान गर्नेतर्फ कसैको ध्यान छैन ।
यता जिल्ला विपत् व्यवस्थापन समितिको अगुवाइमा सांसद, नेता र कर्मचारीको बैठक दिनहुँजसो बसिरहेको हुन्छ । तर, जनताको दुःखलाई सम्बोधन गर्नेबारे काम भएको छैन । सांसदहरू संघीय क्षेत्र १ का माधव सापकोटा, क्षेत्र नं. २ का मोहनबहादुर बस्नेत, समानुपातिकसहित बागमती प्रदेशका ६ सांसद, राजनीतिक दलका नेता र सरोकारवाला सरकारी निकायको बैठक भने धेरैपटक बसिसक्यो । यद्यपि, बैठक छलफलमा मात्रै सीमित भएको छ । अझ रोचक कुरा त कांग्रेस, एमाले र माओवादीका नेताबीच आफ्नो पहलमा काम भइरहेको प्रचारबाजी भइरहेकाे छ ।
जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनासम्बन्धी बैठक बस्नसमेत सरकारी खर्च छैन । बैठकलाई आर्थिक व्यवस्थापन गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरणीय संरक्षण मञ्च (सिडिइसिएफ)ले गरिरहेको छ ।
ठाउँठाउँमा सडक विच्छेद हुँदा अन्तर्राष्ट्रिय नाका तातोपानी प्रभावित भएको छ। सडक डिभिजन कार्यालय चरिकोटले खागदल खोलामा बेलिब्रिज निर्माण गर्न ठेक्का आह्वान गरे पनि काम सुरु हुन सकेन । नेपाली सेना, प्रहरी र स्थानीय सरकारले ह्युमपाइप राखेर अस्थायी बाटो बनाएका छन् ।
भलबाढी आउँदा ह्युमपाइप दिनहुँ बगाउने गर्छ। खागदल खोलामा बेलिब्रिज हाल्न टेन्डर भएको र मेलम्ची– भोताङ सडकमा वैकल्पिक मार्ग बनाउन बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयले लगत स्टमेट तयार पारेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । प्राकृतिक विपत्ति आएको महिना दिन पुग्दा न पुनर्निर्माण भएको छ न त पीडित पक्षलाई कुनै राहत प्रदान गरिएको छ ।