ओलम्पिकमा अनावश्यक पदाधिकारी देखेँ : मन्त्री चौधरी

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

ओलम्पिकलगायत अन्य अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनावश्यक व्यक्ति पठाउने परम्परा नराम्रो भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । पेरिसमा चलिरहेको ३४औँ ग्रीष्मकालिन ओलम्पिकमा नेपालबाट अनावश्यक व्यक्ति पुगेको आफूले पाएको र यसलाई निरुत्साहित पार्न सक्रिय रूपमा अगाडि बढिरहेको उनले बताए । 

‘पेरिसमा मैले धेरै अनावश्यक नेपाली पदाधिकारी देखेँ, यस्तो किसिमको प्रवृति राम्रो होइन,’ सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म भर्खर मन्त्रीको जिम्मेवारी लिएर आएको थिएँ, पेरिस ओलम्पिक पनि सँघारमा थियो, राखेपमार्फत धेरै व्यक्तिको नाम पेरिस जाने लिस्टमा थियो,’ उनले भने, ‘नेपालबाट सहभागी अनावश्यक व्यक्तिलाई समेत दैनिक भत्ता दिने प्रस्तावसहित निवेदन परेको थियो, तर मैले सात खेलाडी र पाँच प्रशिक्षकबाहक अन्यलाई दैनिक भत्ता दिने मात्र निर्णय गरेको थिएँ ।’ 

पेरिसमा पुगेका धेरैजसो पदाधिकारी ओलम्पिकको कोटामा पुगेको उनको भनाइ छ । ‘अधिकांश पदाधिकारी एनओसीको कोटामा जाने भनी प्रस्ताव आएको थियो । त्यसवेला भर्खर मन्त्री भएको हुँदा मलाई बुझन समय लाग्यो ।’ उनले ब्याडमिन्टनका प्रिन्स दाहालले किन प्रशिक्षक नपाएको सन्दर्भमा छानबिन भइरहेको जानकारी दिएका छन् । नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सम्बन्धित निकायमा नदिँदा ओलम्पिकमा डेब्यु गरेका प्रिन्सले प्रशिक्षकविना प्रतिस्पर्धा गरेका थिए ।

‘मैले ओलम्पिकमा ब्याडमिन्टनका प्रशिक्षक नहुनुको छानबिन गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘संघ र अन्य सरोकार निकायसँग यसको जवाफ मागेको छु ।’ यसैबीच, मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको काम आफूले नजिकबाट नियाली रहेको बताएका छन् । ‘मन्त्री भएर आएको तीन साताजति भएको छ, सदस्यसचिवको कामकाज पनि हेरिरहेको छु,’ उनले भने ।

See More On

सुझावित समाचार