प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरमा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकारसँगै क्रिकेटपे्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले मैदानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन अगाडि बढ्ने बताएका हुन् । ‘क्रिकेट रंगशालाका विषयमा सबैसँग छलफल भयो । यो छलफलपछि रंगशाला निर्माणलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने विश्वास लिएका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।
मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो । बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तीव्रतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीले आभार प्रकट गरे । क्यानका सचिव खड्काले रंगशाला मात्र नभएर समग्र क्रिकेटको विषयमा अनौपचारिक कुराकानी भएको बताए ।
‘रंगशाला निर्माणपछि क्यान आफैँ आर्थिक रूपमा सक्षम हुने भएकाले खेलाडीको सेवा–सुविधामा सरकारको मुख ताकिरहनु नपर्ने अवस्था आउनेछ,’ खड्काले भने । प्रधानमन्त्री ओलीले शनिबार मात्रै क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव खड्कासँग भेटघाट गरेका थिए । कलाकारहरूले खेलाडीहरूको सेवा–सुविधा अझै कम भएको भन्दै वृद्धि गर्न सुझाव दिएका थिए । प्रधानमन्त्रीसँगको भेटमा कलाकारबाट गायक बद्री पंगेनी, प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्य कलाकार राजा राजेन्द्र पोखरेल थिए ।
विश्वकप लिग २ का लागि २२ खेलाडी प्रशिक्षणमा
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग २ प्रतियोगिताका लागि २२ खेलाडीलाई प्रशिक्षणमा डाकेको छ । नेपालले अब लिग–२ अन्तर्गत क्यानडामा प्रतियोगिता खेल्नेछ । गत महिना अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकपमा सहभागी नेपाली टोलीले दुई महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी छन् । करण केसी, गुल्सन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बासिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा पनि छन् । बन्द प्रशिक्षणमा टी–२० विश्वकप खेलेका केही खेलाडीले एकदिवसीय टोली स्थान बनाउन सकेनन् ।
सागर प्रतिश जिसी र अभिनाश बोहरा बाहिर छन् । देव, रिजन, भीम, आरिफ, सूर्य, बसिर, आकाश र अर्जुन एकदिवसीय टोलीमा छन् । उनीहरूबाहेक बाँकी टी–२० विश्वकप खेलेका खेलाडी हुन् ।
नेपाल छैटौँ स्थानमा
यसअघि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपालले चारमध्ये तीन खेलमा हारको सामना गरेको थियो । नेपालले ओमान र अमेरिकामा पनि सिरिज खेल्नेछ । लिग २ को अंक तालिकामा शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ । स्कटल्यान्डले सात खेलमा चार जित र दुई हारको सामना गरी ९ अंक बटुलेको छ । क्यानडा दोस्रो स्थानमा छ । क्यानडाले चार खेलमा चारै जित निकालेको छ । तेस्रो स्थानको नामिबियाले आठ खेलमा समान चार जित र चार हार नतिजा बेहोरेको छ । गत वर्ष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेलेको नेदरल्यान्ड्स चौथो स्थानमा छ । नेदरल्यान्ड्सले चार खेलमा समान दुई जित र हार सामना गरेको छ । ओमान ३ अंकका साथ पाँचौँ स्थानमा छ । नेपाल २ अंकका साथ छैटौँ स्थानमा छ ।