काभा महिला भलिबल नेसन्स लिग : पाँचौँ सेटमा इरानसँग हार्‍यो नेपाल

२४ घण्टाभित्र इरानविरुद्ध प्रतिस्पर्धा गर्दा घरेलु खेलाडी थकित देखिएपछि लिगमा नेपालले पहिलो हारको सामना गर्‍यो

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण
काभा महिला भलिबल नेसन्स लिग : पाँचौँ सेटमा इरानसँग हार्‍यो नेपाल

इरानी खेलाडीको स्पाइक रोक्ने प्रयासमा घरेलु खेलाडी (रातो) । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाली राष्ट्रिय महिला टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगमा पहिलो हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार नेपाल रोमाञ्चक खेलमा इरानसँग ३–२ को सेटमा पराजित भएको हो । शनिबार मात्र भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली खेलाडी लगातार खेल्दा थकित देखिएका थिए । इरानविरुद्ध सर्भिस, रिसिभ, ब्लक, डिफेन्समा नेपाल कमजोर देखियो । 

लिगमा अपराजित यात्रा राख्ने योजनाका साथ कोर्टमा ओर्लिएका कप्तान तथा सेटर अरुणा शाही, ओपन हिटर निरुता ठगुन्ना, सरस्वती चौधरी, ब्लकर सुमित्रा रेग्मी तथा साफिया पुन, ओपन हिटर उषा भण्डारी, आरती सुवेदी र लिबेरो सलिना श्रेष्ठ चल्न सकेनन् । इरानले नेपालविरुद्ध महत्वपूर्ण २ अंक जोड्यो । समग्रमा इरानले चार खेलबाट ७ अंक बनाएको छ । नेपालको पक्षमा १ अंक आएको छ ।

तीन खेल खेलको नेपालले ६ अंक जोडेको छ । अब, नेपालले सोमबार लिग चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्दै छ । श्रीलंकासँग पराजित माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

लगातार खेल्दा थाकेका देखिए घरेलु खेलाडी 
२४ घण्टाभित्र इरानविरुद्ध प्रतिस्पर्धा गर्दा नेपाली खेलाडी थकित देखिएका थिए । राम्रोसँग आराम नै गर्न नपाएका खेलाडीले सुरुको पहिलो सेटमै कमजोर प्रदर्शन गरेका थिए । भारतविरुद्धको लय पक्रन नसकेको नेपालले इरानविरुद्ध पहिलो सेट १६–२५ ले गुमाएको थियो । नेपालले लगातार ३ अंक गुमाएपछि दबाबमा आएको थियो । प्रशिक्षक जगदीश भट्टले टाइम आउट लिए । 

दोस्रो सेटमा सुधार गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्यो । इरानलाई ९ अंकले पछि राख्दै दोस्रो सेट नेपालले २५–१६ ले आफ्नो पक्षमा राख्यो । १–१ को बराबरीमा पुगेको प्रतिस्पर्धाको तेस्रो सेटमा इरान दुई अंकको अन्तरमा २५–२३ ले विजयी भयो । इरानले प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट हात पार्दै २–१ को अग्रता बनायो । खेलमा टिकिरहन नेपालले चौथो सेट जित्नुपर्ने दबाबको सामना गरेको थियो । यस सेटमा नेपालले छरितो प्रदर्शन गर्यो । 

सरस्वती चौधरी चम्किएपछि नेपाले चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को बराबरीमा ल्यायो । पाँचौँ तथा निर्णायक सेटमा नेपाल पुनः कमजोर देखियो । खेलको एक समयमा नेपाल ७–११ ले पछि थियो । इरानी खेलाडीले प्लेसिङमा अंक जोड्दै नेपालमाथि १५–१३ को नजिता निकाल्यो । इरानले नेपालविरुद्ध उत्कृष्ट डिफेन्स रणनीति बनाउँदै जित निकाल्यो । 

सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो
लिगमा श्रीलंकाले पहिलो जित तथा माल्दिभ्स लगातार तेस्रो खेलमा पराजित भएपछि प्रतियोगिताको सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको छ । नेपालसँगै साबिक विजेता भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगेका छन् । सोमबारको खेलपछि सेमिफाइनलमा भिड्ने टोलीको छिनोफानो हुनेछ ।आइतबार पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । श्रीलंकाले खेल २५–२२, २५–१२, २५–१६ ले आफ्नो पक्षमा पार्यो । श्रीलंकाले तीन खेलमा ४ अंक जोडेको छ । तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ । श्रीलंकाले यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा हार व्यहोरेको थियो । माल्दिभ्स भारत र इरानसँग समान ३–० को सेटमा पराजित भएको थियो । 

खेलाडी थकित देखिए
जगदीश भट्ट, प्रशिक्षक, नेपाल

शनिबार भारतसँग पाँच सेट खेल्दा हाम्रा खेलाडी थकित भए । भारतमाथिको जितपछि लिगमा च्याम्पियन हुने योजना थियो । इरानविरुद्ध पहिलो सेट हारेपछि दबाब भयो । धेरै थाकेका खेलाडीबाट तेस्रो सेटमा कमजोर प्रदर्शन भयो । चौथो राम्रो हुँदा पाँचौँ कमजोर भयो । इरानको स्पाइक र ब्लक राम्रो थियो । धेरै र्याली चल्दा हाम्रो खेलाडीले सकेनन् । हामी डिफेन्समा कमजोर भयौँ । खेलाडीले भनेको स्थानमा सर्भिस पुर्याउन सकेनन् । 

इरानसँग राम्रो प्रदर्शन भएन
अरुणा शाही, कप्तान, नेपाल

योजनाअनुसार राम्रो प्रदर्शन भएन । हामीले इरानविरुद्ध सुरुवातमै रिसिभ बिगार्यौँ । त्यसपछि नेपाल दबाबमा आयो । हामीहरूको तुलनामा सर्भिसमा इरान राम्रो थियो । उनीहरूले रिसिभमै हामीमाथि दबाब राखेका थिए । उनीहरूको काउन्टर अट्याक पनि राम्रो थियो । हामी यसै पक्षमा चुक्यौँ । पाँच सेट चल्दा खेल कन्ट्रोलमा राख्न सकेनौँ । माल्दिभ्सविरुद्ध खेल्न बाँकी छ । सेमिफाइनलमा राम्रो खेल्नेछौँ । 

सुझावित समाचार