बागमती प्रदेशले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ । प्रदेश खेलकुद विकास परिषद्का अनुसार बागमतीबाट ६५६ खेलाडीसहित कुल ७८२ जना सहभागी हुनेछन् ।
परिषद्का सदस्यसचिव दीपक लामाले खेलाडीबाहेक प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता र मेडिकल टोली गरी थप १२६ जना सहभागी हुने जानकारी दिए । उनका अनुसार प्रदेशका १३ वटै जिल्ला र सम्बन्धित खेल संघलाई तयारी तथा खेलाडी छनोटका लागि पत्राचार गरिसकिएको छ । आगामी १५ कात्तिकसम्म सबै खेलको छनोट सम्पन्न गर्ने लक्ष्य राखिएको लामाले बताए ।
छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर राष्ट्रिय प्रतियोगिताका लागि तयार गर्नेछ । ३२ खेलमध्ये १२ खेलका खेलाडी जिल्लास्तरबाट छनोट गरिनेछन् । बाँकी २० खेलमा खुला छनोट हुने परिषद्ले जनाएको छ । खुला छनोटमा बागमतीका १३ जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुन सक्नेछन् ।
यसअघि तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई पनि राष्ट्रिय खेलकुदको पूर्वतयारीका रूपमा लिइएको सदस्यसचिव लामाले बताए । सो प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई समेत छनोट प्रक्रियासँग जोडिने उनको भनाइ छ ।
जिल्लागत र खुला छनोटबाट टोली तयार गरेपछि विशेष प्रशिक्षण सञ्चालन गर्ने तयारी छ । परिषद्ले खेलाडीको शारीरिक तयारीसँगै खेल मनोविज्ञान, फिजियोथेरापी र पोषणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।
‘कुन स्थान हासिल गर्छौँ भनेर अहिले नै ठ्याक्कै भन्न सकिँदैन, तर उत्कृष्ट नतिजाका लागि आवश्यक आधार तयार गर्दै छौँ,’ उनले भने । प्रदेश सरकारले राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्थासमेत अघि बढाएको छ । परिषद्का अनुसार स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ७५ हजार र कांस्य विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको सदस्यसचिव लामाले बताए ।