वर्षा र सहकालका देवता रातोमत्स्येन्द्रनाथको भोटो जात्रा मनाइएको छ । जात्राको अन्तिम दिन आइतबार साँझ ५:३० बजे राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिलाई भोटो देखाएर जात्रा सम्पन्न गरिएको छ । जावलाखेलमा राखिएको रथको चारै दिशा घुमेर गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणसम्मलाई भोटो देखाएका हुन् । भोटोजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओलीलगायत उपराष्ट्रपति र मन्त्रीहरू पुगेका थिए ।
आचार्यले रथको चारैदिशा घुमेर यो भोटो कसको हो भन्दै देखाए । तर, कसैले सही जवाफ दिन सकेनन् ।किंवदन्तीअनुसार पहिचान गर्नेलाई भोटो दिने मान्यता छ । तर, हालसम्म सो भोटो कसको हो, पत्ता भने लाग्न सकेको छैन । यो जात्रा करिब १६ सय वर्षअघि सुरु भएको किंवदन्ती छ । भोटो अवलोकन गर्न पुगेका राष्ट्रपति पौडेलले मत्स्येन्द्रनाथ, कुमारीलगायतको पूजा र गरी टीका–प्रसाद ग्रहण गरे । अन्य उपस्थित विशिष्ट व्यक्तिहरूले पनि पालैपालो रथको पूजा र टीका–प्रसाद ग्रहण गरे । करिब ३० मिनेट जात्रा अवलोकन गरेपछि राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरू फर्किएका थिए ।
हिन्दु धर्मावलम्बीले मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्तगुरु करुणामयको रूपमा पनि लिने गरिन्छ । मत्स्येन्द्रनाथका पुजारी कपिल बज्राचार्यका अनुसार यो जात्रा तथा रथलाई बौद्ध धर्मावलम्बीले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्दछन् ।
यसलाई उपत्यकाकै लामो जात्राको रूपमा रहेको रातोमत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा लिइन्छ । परम्पराअनुसार रातोमत्स्येन्द्रनाथको रथलाई कुमारीपाटी क्षेत्रबाट जावलाखेलमा लगेको चौथो दिन भोटो देखाउने चलन छ । सोहीअनुसार आइतबार भोटो देखाइएको हो ।
मत्स्येन्द्रनाथका पुजारी बज्रचार्यका अनुसार किंवदन्तीअनुसार नागराजाले ज्यापूलाई उपहारस्वरूप भोटो दिएका थिए । तर, त्यो भोटो राक्षसले चोरेर लैजान्छ । जावलाखेलमा आयोजना गरिएको रातोमत्स्येन्द्रनाथको जात्रा हेर्न राक्षस त्यही भोटो लगाएर आउँछ । यो जात्रालाई पहिले–पहिले जावलाखेल जात्रा पनि भन्ने गरिन्थ्यो । जात्रामा राक्षसले भोटो लगाएर आएपछि ज्यापूसँग घमासान झगडा पर्ने गथ्र्यो ।
किंवदन्तीअनुसार विवाद समाधान हुन नसकेपछि झगडा मिलाउन बहुमूल्य रत्नजडित त्यो भोटो रातोमत्स्येन्द्रनाथको जिम्मा लगाइएको थियो । त्यसकारण रथजात्रा जावलाखेल पुगेको चौथो दिनमा भोटो कसको हो ? भनेर देखाइन्छ । चार दिशामा घुमेर प्रमाणसहित लिन आउनू भनेर बोलाइन्छ । मत्स्येन्द्रनाथको रथयात्रा नेपालको सबैभन्दा लामो जात्राका रूपमा परिचित छ । वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म जात्रा चल्ने गर्दछ ।
अर्को किंवदन्तीअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले वि. सं. ५४६ मा यो जात्रा सुरु गराएका थिए । यो पौराणिक कथनमा पनि उल्लेख छ । रथको निर्माण ललितपुरको पुल्चोकमा गरिन्छ । त्यसपछि रथ अक्षय तृतीयाका दिन शुभसाइत पारी मत्स्येन्द्रनाथको रथारोहण गर्ने परम्परा छ । मत्स्येन्द्रनाथलाई रथारोहण गरेपछि विधिवत् रूपमा रथयात्रा प्रारम्भ हुन्छ । हरेक वर्ष रथ तान्नुअघि गुरुज्यूको पल्टनबाट सलामीसमेत दिने परम्परा छ भने भोटो हेर्न राष्ट्रप्रमुख पुग्नैपर्छ ।
थालनीको वेलादेखि राष्ट्रप्रमुख जो हुन्छ, उसले भोटो हेर्न जानैपर्ने चलन चलाइएको थियो । जात्राको वेला रथलाई विभिन्न नगर पनि परिक्रमा गराउने गरिन्छ । पुल्चोकबाट रथारोहण गरेपछि बाजागाजासहित रथ तानेर पुल्चोकबाट गाःबहाल र दोस्रो दिन सुन्धारा पुर्याइन्छ । त्यहाँबाट ललितपुरको थटीटोलमा रथ पुर्याएर नरिवल जात्रा मनाइन्छ । यस ठाउँमा रथ केही समय राखिन्छ । साइत हेरेर थटीटोलबाट जावलाखेल लगिन्छ ।
जावलाखेल लगेको चौथो दिन भोटो देखाउन चलन छ । परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलमा परिक्रमा गराउने गरिन्छ । भोटो देखाएकै दिन रातोमत्स्येन्द्रनाथको रथलाई खटमा राखी बुंमती पुर्याइएको छ । मत्स्येन्द्रनाथलाई त्यहाँ ६ महिनासम्म राखिन्छ भने साइत हेरेर पाटन मत्स्येन्द्रबहालमा ल्याउने गरिन्छ ।