लमजुङमा आर्थिक वर्ष ०८०/८१ मा दुई सय २६ घरेलु उद्योग खारेज भएका छन् । गत वर्ष ८९ उद्योग र एक सय ३७ वाणिज्य गरी दुई सय २६ उद्योग खारेज भएका हुन् । तर, सोही समयमा दुई सय १८ उद्योग र एक सय ७६ वाणिज्य गरी तीन सय ९४ उद्योग दर्ता भएका छन् ।
खारेज हुने उद्योगमा बढी कृषिजन्य उत्पादनमूलक उद्योगहरू रहेको पर्यटन तथा उद्योग कार्यालय लमजुङले जनाएको छ । पर्यटन तथा घरेलु उद्योग कार्यालयकी प्रमुख मिता थापाले भनिन्, ‘देशमा बढ्दै गएको आर्थिक शिथिलतासँगै खारेज हुने उद्योगको संख्यामा वृद्धि भएको छ ।’ राजस्वमा ५० प्रतिशत छुट हुने भएपछि नयाँ दर्ता भएका अधिकांश उद्योग महिलाका नाममा दर्ता भएको कार्यालयले जनाएको छ ।
जिल्लामा बर्सेनि घरेलु तथा साना उद्योगमा लगानी थपिँदै गर्दा हालसम्म यहाँका उद्योगमा करिब चार अर्ब लगानी भएको छ । कार्यालयमा आव ०७१/७२ देखि हालसम्म चार अर्बभन्दा बढी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालित उत्पादनमूलक, सिलाइ–कटाइ, कृषि औजार, पर्यटन, सेवामूलक, उद्योग, कृषि र वन पैदावर उद्योगमा सबैभन्दा धेरै लगानी भएको छ ।