दक्षिण एसियाली जायन्ट भारतविरुद्ध भलिबल इतिहासमै नेपालले पहिलो जित हासिल गरेको छ, यस जितमा स्पाइकर निरुता ठगुन्ना एक्लैले सर्वाधिक २२ अंक जोडिन्
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । शनिबार घरेलु टोली नेपालले काभा महिला नसन्स भलिबल लिगमा भारतलाई ३–२ को सेटमा हरायो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा नेपालले २५–१८, १२–२५, २५–१७, १८– २५ र १५–१३ खेल जित्यो । नेपालको जितमा उषा भण्डारी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, सलिना श्रेष्ठ, कप्तान अरुणा शाहीले सानदार प्रदर्शन गरे । उषाले स्पाइक भारतीय खेलाडीले डिफेन्स गर्न नसकेपछि पाँचौँ सेटमा नेपालले जित सुनिश्चित गरेको थियो ।
भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो । पुरुष टिमले भने हालसम्म भारतलाई हराउन सकेको छैन । यसअघि नेपाल घरेलु मैदानमा दुईपटक भारतसँगै पराजित भएको थियो । सन् २०१९ दक्षिण एसियाली खेलकुद (साग)को फाइनल र काभाकै तेस्रो संस्करणमा सेमिफाइनलमा पराजित भएको हो ।
प्रशिक्षक जगदिश भट्ट जितपछि खुसी देखिए । उनले अभ्यासअनुसार अझै कमजोर प्रदर्शन भएको प्रतिक्रिया दिए । ‘हामीले भारतविरुद्ध ऐतिहासिक जित निकालेका छौँ । सबैको मिहिनेतले यो जित निस्कियो,’ प्रशिक्षक भट्टले भन, ‘हामीले अभ्यास गरेजस्तो खेल अझै भएको छैन । तर, यो जितले मनोबल बढाएको छ । उपाधि जित्न सहज हुन्छ ।’
जितपछि नेपालले दुई खेलबाट पाँच अंक जोडेको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सेटमा हराएको थियो । अब, नेपालले तेस्रो खेल आइतबार इरानसँग खेल्नेछ । पहिलो हार व्यहोरेको भारतको तीन खेलबाट सात अंक छ । यसअघि भारतले इरानलाई ३–१ र माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो ।
निरुताले दिलाइन् २२ अंक
दक्षिण एसियाली जायन्ट भारतविरुद्धको जितमा स्पाइकर निरुता ठगुन्नाले एक्लै सर्वाधिक २२ अंक दिलाइन् । उनी खेलभर निकै व्यस्त पनि रहिन् । अर्की स्पाइकर सरस्वतीले १६ र उषाले ११ अंक दिलाएका हुन् । यसै प्रतियोगिताबाट डेब्यु गरेकी मिड ब्लकर सुस्मिताले पनि सानदार प्रदर्शन गर्दै १० अंक जोडिन् । ‘निरुता, उषा र सुस्मिताले सानदार प्रदर्शन गरे । यसले पनि सहज जित निकाल्यौँ । उषा घाइते नभएको भए अझै सहज जित निस्कने थियो,’ प्रशिक्षक भट्टले भने । भारतमाथि नेपालले पाँचौँ सेटमा जित निकालेको हो । नेपालले दुईपटक अग्रता बनाएपछि सहजै खेल आफ्नो पक्षमा पार्न भने सकेन । अधिकांश युवा खेलाडी सहभागी गराएको नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पहिलो, तेस्रो र पाँचौँ सेट आफ्नो नाममा लेखाएको हो । पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो सेट भने १२–२५ ले गुमाएको थियो । तर, तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले खेल २५–१७ ले आफ्नो पक्षमा पार्यो । चौथो सेटमा पुनः भारत हाबी भयो । यो सेटमा सुरुदेखि नै अग्रता लिएको भारतले समग्रमा १८–२५ ले खेल जित्यो । त्यसपछि अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित दर्ता गरायो ।
खेलपछि कसले के भने ?
उपाधिमा ध्यान दिन्छौँ : जगदीश भट्ट, प्रशिक्षक, नेपाल
भारत धेरै राम्रो टिम हो । यो जितले टिमको हौसला बढाएको छ । हाम्रो स्तर राम्रो देखाएको छ । २०१६ देखि भलिबल राम्रो हुँदै आएको छ । अब, उपाधिमा ध्यान दिन्छौँ । सबैको योगदानले यो जित निस्केको छ । यतिले हामीलाई पुग्दैन धेरै गर्नुपर्छ । अभ्यासमा भएको ६० प्रतिशत पनि खेलाडीले खेलेका छैनन् ।
हामीले धेरै खुसी हुनुपर्ने छैन : अरुणा शाही, कप्तान, नेपाल
ऐतिहासिक जित भनेर हामीले धेरै खुसी हुनुपर्ने छैन । यो लिग खेल हो । सेमिफाइनल बाँकी नै छ । उपाधि जित्न बाँकी नै छ । अहिले नै धेरै खुसियाली मनाइ राख्नुपर्छ जस्तो लाग्दैन । भारतसँग खेल्दा सधैँ डर हुन्थ्यो । तर, जित्दा छुट्टै खुसियाली हुन्छ । हाम्रो सुरुवात राम्रो भएको थियो । तर, भारतले कमब्याक गर्दा दबाब भयो ।
रणनीतिअनुसार खेल्न सकेनौँ : उषा भण्डारी, खेलाडी, नेपाल
रणनीतिअनुसार अझै खेल्न सकेनौँ । मैले पनि खेल्न सकिनँ । तर, घाइते हुँदा पनि अन्तिममा राम्रो गर्न सफल भए । सेमिफाइनल पनि खेल्छौँ । सायद फाइनलमा भारतसँग नै खेल्छौँ । सन् २०१९ मा पनि पाँच सेट खेलेर हारेका थियौँ । त्यो मेरो डेब्यु प्रतियोगिता पनि थियो । अहिले हराउँदा खुसी छौँ ।
सोचेभन्दा राम्रो खेलेँ : निरुता ठगुन्ना, खेलाडी, नेपाल
सोचेभन्दा राम्रो खेलेजस्तो लाग्छ । तालमेल राम्रो हुँदा राम्रो भयो । त्यसैले पनि धेरै अंक जोड्न सफल भयौँ । टोलीको साथले यो उपलब्धि हासिल गरेको छु । पहिला फाइनलमा भारतसँग पराजित भएको थियो । त्यसको बदला लिनु थियो । त्यो पूरा भएको छ । सबैले आ–आफ्नो स्थानबाट राम्रो गर्यौँ । कमीकमजोरी सुधार गर्दै उपाधि जित्न खेल्नेछौँ ।
म भाग्यमानी हो : आरती सुवेदी, खेलाडी, नेपाल
अरू खेलाडीले भारतलाई हराउन धेरै समय खेल्नुपर्यो । मैले डेब्यु गरेको प्रतियोगितामै भारतलाई हराउन सफल भएका छौंँ । सबै खेलाडीले धेरै मिहिनेत गरेपछि यो नतिजा आएको हो । सबैजना एकदम खुसी छौंँ । म भाग्यमानी पनि रहेछु । पहिलो सेटमै खेल्दा दबाब पनि थियो । अब, उपाधिका लागि खेल्छौँ ।
खुसीको सीमा छैन : सरस्वती चौधरी, खेलाडी, नेपाल
सन् २०१४ देखि मैले डेब्यु गरेको हो । भारतलाई हराउने सधै चाहना थियो । धेरैपटक पाँच सेट खेलेपछि हारेका थियौँ । यो जितले धेरै खुसी बनाएको छ । यसको सीमा छैन । निकै सम्हालिएर खेल्यौँ । पहिलो सेट जितेपछि आत्मबल बलियो भयो । सोझो सेट जाला भन्ने थियो । तर, भएन । दबाबमा पनि राम्रो खेल्न सफल भयौँ ।