आँखैअगाडि घिसार्दै लग्यो बाघले

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

धानबारी गोड्न गएकी कञ्चनपुरको दोधाराचाँदनीकी हिराकुमारी शाह (साहु)को नरभक्षी बाघको आक्रमणबाट ज्यान गएको छ, दुई दिनअघि मात्रै स्थानीय अर्की एक महिलालाई घाइते बनाएको बाघ खोजीका लागि हात्ती परिचालन गरिएको छ 

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– २ कमलशाही टोलकी २६ वर्षीया हिराकुमारी शाहको ज्यान लिने बाघ खोज्न हात्ती परिचालन गरिएको छ । बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्रमणबाट शाहको मृत्यु भएको थियो । बाघ खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चार हात्ती परिचालन गरिएका हुन् । 

आफ्नै धानबारी गोड्न गएकी हिरालाई नजिकै उखुबारीमा लुकेर बसेको बाघले आक्रमण गरेको थियो । ठूलो क्षेत्र रहेको उखुबारीभित्रै बाघ रहेको निष्कर्षसहित हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार ऐरले बताए । ‘बाघ नियन्त्रण गर्न चिकित्सकको टोलीले डार्ट गन हानेर बेहोस बनाउँछ,’ उनले भने, ‘बेहोस भएको बाघलाई नियन्त्रणमा लिन्छौँ ।’ निकुञ्जमा वन्यजन्तु नियन्त्रण, उद्धारका लागि जनशक्ति र स्रोत डार्ट गन भए पनि औषधि नहुँदा बर्दियाबाट मगाएको उनले बताए । ‘ठूला वन्यजन्तु बेहोस पार्न जताततै औषधि पाइँदैन,’ उनले भने, ‘हामीसँग पनि नभएकाले बर्दिया राष्ट्रिय निकुञ्जबाट मगाएका छौँ ।’ 

हिराकी जेठानी मीनाले हेर्दाहेर्दै बाघले घाँटीमा समातेर उखुबारीमा लगेर मारेको बताइन् । ‘दुई–तीन दिनदेखि गाउँमा बाघ आएको हल्ला थियो, केहीले त देखेका रहेछन्, हामीले हल्ला मात्रै सुन्यौँ,’ उनले भनिन्, ‘गाउँका सबै महिला घाँस काट्न गए, देउरानी पनि गइन् । म खेत पुगेर घरायसी काममा धारामा पुग्दासम्म देउरानीलाई त्यहाँबाट उखुबारीमा लगिरहेको देखेर चिच्याएँ ।’ 

बाघ भारतीय पिलिभित टाइगर रिजर्भ जंगलबाट नेपाल आएको स्थानीयले अनुमान गरेका छन् । दोधाराचाँदनी नगरपालिकाले मृतक परिवारलाई किरिया खर्चबापत ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । दोधाराचाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले विपत् व्यवस्थापन समितिको बैठकले मृतक परिवारलाई राहतस्वरूप पालिकाबाट नगद सहयोग गर्ने निर्णय गरिएअनुरूप छिट्टै हस्तान्तरण गर्ने बताए ।

दुई दिनअघि मात्र शुक्लाफाँटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउद बाघको आक्रमणबाट घाइते भएकी थिइन् । गत वर्ष बेलौरी नगरपालिका– ८ पचुईकी ४० वर्षीया गंगा चन्दको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । घाँस काट्न उखुबारी गएका वेला बाघले आक्रमण गरेपछि बाघ खोज्न हात्ती परिचालन गरिएको थियो । 

हिराकी जेठानी मीनाले हेर्दाहेर्दै बाघले घाँटीमा समातेर उखुबारीमा लगेर मारेको बताइन् । ‘दुई–तीन दिनदेखि गाउँमा बाघ आएको हल्ला थियो, केहीले त देखेका रहेछन्, हामीले हल्ला मात्रै सुन्यौँ,’ उनले भनिन्, ‘गाउँका सबै महिला घाँस काट्न गए, देउरानी पनि गइन् । म खेत पुगेर घरायसी काममा धारामा पुग्दासम्म देउरानीलाई त्यहाँबाट उखुबारीमा लगिरहेको देखेर चिच्याएँ ।’ 

बाघ भारतीय पिलिभित टाइगर रिजर्भ जंगलबाट नेपाल आएको स्थानीयले अनुमान गरेका छन् । दोधाराचाँदनी नगरपालिकाले मृतक परिवारलाई किरिया खर्चबापत ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । दोधाराचाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले विपत् व्यवस्थापन समितिको बैठकले मृतक परिवारलाई राहतस्वरूप पालिकाबाट नगद सहयोग गर्ने निर्णय गरिएअनुरूप छिट्टै हस्तान्तरण गर्ने बताए ।
 
See More On

सुझावित समाचार