गाजामा ‘उत्तेजक कार्य’ रोक्न मध्यपूर्वका सबै पक्षलाई अमेरिकाकाे आग्रह

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम गर्न मध्यपूर्वका ‘सबै पक्ष’लाई आग्रह गरेका छन्।

इरानले इजरायलमाथि आरोप लगाएको तेहरानमा भएको आक्रमणमा हमासका राजनीतिक प्रमुख इस्माइल हानियेको मृत्यु भएपछि अमेरिकी कूटनीतिज्ञको यो भनाइ आएको हो।

इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको जवाफी कारबाहीमा हिजबुल्लाहका एक शीर्ष कमान्डर मारिएको बताएको केही घण्टापछि इस्माइल हनियेको मृत्यु भएको थियो।

सिरिया, लेबनान, इराक र यमनमा इरानसमर्थित लडाकु समूहमा जारी द्वन्द्व र गाजामा जारी युद्धका कारण क्षेत्रीय तनाव चर्किरहेका वेला यी हत्याहरू भएका हुन्।

इजरायलले तेहरानको आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। मंगाेलियाको राजधानीमा बोल्दै उच्च अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनले मध्यपूर्व द्वन्द्व, हिंसा, पीडा र थप असुरक्षाको दिशामा अघि बढिरहेको टिप्पणी गरे। 

ब्लिन्केनले मंगाेलियन समकक्षीसहित गरेको पत्रकार सम्मेलनमा हिंसाको अन्त्य युद्धविरामबाट सुरु हुने भन्दै त्यसका लागि आफूहरूले काम गरिरहेको बताए।

उनले भने, ‘युद्धविराम र शान्तिका लागि सबैभन्दा पहिले सबै पक्षसँग कुरा गर्न, कुनै पनि आक्रामक कदम चाल्न बन्द गर्न र द्वन्द्वरत पक्ष सहमतिमा आउने कारणहरू खोज्न आवश्यक छ।’

बुधबार सिंगापुरमा ब्लिन्केनले प्यालेस्टिनी इस्लामिक आन्दोलनका नेताको मृत्युबारे प्रत्यक्ष रूपमा टिप्पणी गरेका थिएनन्।

इजिप्ट र कतारसँग मिलेर संयुक्त राज्य अमेरिकाले नेतृत्व गरिरहेको गाजामा सम्भावित युद्धविराममा हनियेको हत्याले पार्ने प्रभावबारे कुनै टिप्पणी गर्न उनले अस्वीकार गरे।

सुझावित समाचार