म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाको ६ हजार २७० मिटर लामो मुख्य सुरुङ मंगलबार जोडिएको हो।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो। आयोजनाको मुख्य सुरुङ खन्ने काम पूरा भएसँगै आयोजनाको सबैभन्दा जोखिम र कठिन कामले सफलता पाएको सञ्चालक केसीले बताए।
आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति र जडानलगायतका कार्यहरू भइरहेका छन् । ब्रेक थ्रु भएसँगै आयोजनाको रघुगंगा गाउँपालिका– ४ बुग्लमा रहेको बाँधबाट वडा नम्बर ३ को तिलकेर्नसम्मको सुरुङ जोडिएको छ।
मुख्य सुरुङमार्ग छिचोल्ने काम पूरा भएसँगै आयोजनाको सिभिलतर्फको ६० प्रतिशत काम सकिएको आयोजना प्रमुख राजबहादुर विष्टले जानकारी दिए। पिप्लेस्थित मुख्य सुरुङको आउटलेटबाट तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइपलाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको थियो।
मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृह लैजाने पाइपलाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । यसअघि पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भइसकेको छ। भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसाेसिएट्ससँग २०७४ मंसिरमा सम्झौता भएको थियो।
०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ। आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २५ प्रतिशत सकिएको छ। रघुगंगा गाउँपालिका– ४ काे दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त बाँध र तिल्केनीचौरमा विद्युतगृहको पूर्वाधार निर्माणको काम भइरहेको छ।