नेप्से ३५ अंकले बढेर २७ सयनजिक, कारोबार रकम १७ अर्बमाथि

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

सोमबार करेक्सन देखिएको सेयर बजार मंगलबार पुनः बढेर २७ सय विन्दुनजिक पुगेको छ । आज नेप्से परिसूचक ३५.५५ अंकले बढेर दुई हजार ६ सय ९६.६५ विन्दुमा कायम  भएको हाे। सेन्सेटिभ इन्डेक्स ०.६७ प्रतिशत र फ्लोट इन्डेक्स १.१७ प्रतिशतले बढेको छ।

सोमबारको तुलनामा कारोबार रकममा गिरावट आए पनि आज १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सोमबार कारोबार रकम झन्डै साढे १९ अर्बबराबर पुगेको थियो। मंगलबार ३२९ कम्पनीका चार करोड तीन लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा १७ अर्बभन्दा बढीको कारोबार भएको हो।

नेप्सेका १३ उपसमूहमध्ये बैंक, म्युचल फन्ड, निर्जीवन बिमा र व्यापार  उपसमूह एक प्रतिशतभन्दा कमले घट्दा बाँकी उपसमूह बढेका छन्। वित्त र होटेल तथा पर्यटन उपसमूहको सूचक करिब  ६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी जलविद्युत् र लगानी समूह पनि तीन  प्रतिशतभन्दा धेरैले बढेका छन्।

१८९ कम्पनीको सेयर मूल्य बढ्दा आज सात कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । प्रोग्रेसिफ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स र मध्यभोटेकोसीको सेयर मूल्यमा सर्किट लागेको हो। थप १० कम्पनीको सेयर मूल्य पनि आठदेखि नाै प्रतिशतभन्दा धेरैले बढेका छन्।

आज ४७ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेकोमा एसियन हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ।  गणपति लघुवित्त ६.११ र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्डमा ४.७२ प्रतिशतले गिरावट आएको छ।

सुझावित समाचार