ग्लोबल टी–२० लिग : दीपेन्द्र आक्रामक र रोहितको सुस्त ब्याटिङ

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

क्यानडामा चलिरहेको ग्लोबल टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आक्रामक र कप्तान रोहितकुमार पौडेलले सुस्त ब्याटिङ गरेका छन् । आइतबार राति मोन्ट्रियल टाइगर्सविरुद्ध दीपेन्द्रले आक्रामक ब्याटिङ गरेका हुन् । उनले १५ बलमा ३० रन जोडे । उनले ३ चौका र एक छक्कासहित ३० रनको योगदान दिए । 

नेपालका सन्दीप लामिछानेले बलिङमा मध्यम प्रदर्शन गरे । ब्याटिङमा एक रन जोडेका सन्दीपले बलिङमा एक विकेट लिएका थिए । यसका लागि उनले चार ओभर बलिङमा २४ रन खर्चेका थिए । दीपेन्द्र र सन्दीप सम्मिलित भेनकुभर नाइट्सको यो तेस्रो हार हो । मोन्ट्रियल टाइगर्ससँग १० रनले पराजित भयो । 

जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभर २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । पहिला ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । 

अर्को खेलमा रोहित आबद्ध टोरन्टो नेसनलले पहिलो हारको सामना गरेको छ । सर्रे जगुअर्सविरुद्ध टोरन्टो ८० रनको विशालअन्तरले पराजित भएको हो । जगुअर्सले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । 

रोहितले पहिलोपटक ब्याटिङको मौका पाउँदा त्यसको उपयोग गर्न सकेनन् । उनले २५ बल सामना गर्दा १० रन मात्र जोडेका थिए । रक्षात्मक शैलीमा ब्याटिङ गरेका रोहितले एउटा पनि बाउन्ड्री लगाउन सकेनन् ।

सुझावित समाचार