बैंक तथा वित्तीय संस्थाले भित्र्याउने विदेशी ऋणको जोखिम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको ऋणको विदेशी विनिमय दरमा हुने उतारचढावले हुन सक्ने नोक्सानी व्यवस्थापन गर्ने डेरिभेटिभ उपकरणको कारोबार नै स्वाप कारोबार हो ।
बैंकहरूले विदेशी मुद्रामा ऋण ल्याउँदा हुन सक्ने जोखिम व्यवस्थापन गर्न खोजिएको केन्द्रीय बैंक विनिमय विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले जानकारी दिए । उनले भने, ‘विनिमय दरमा हुने उतारचढावले बैंक तथा वित्तीय संस्थाले ल्याउने ऋणमा नोक्सान हुन सक्छ । अब छिट्टै हामी इच्छुक बैंकहरूलाई यो सुविधा लिन सार्वजनिक आह्वान गर्नेछौँ ।’
विनियमावलीअनुसार विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउन्टरपार्टीबीच ‘खरिद–बिक्री अमेरिकी डलर–नेपाली रुपैयाँ स्वाप कारोबार गर्न सकिन्छ । यसमा बैंक तथा वित्तीय संस्था नै स्वाप कारोबार गर्ने काउन्टरपार्टी बन्न पाउँछन् ।
यस्तो छ स्वाप कारोबारको प्रक्रिया
स्वाप कारोबारको पहिलो चरणको कारोबारलाई स्पट कारोबार भनिन्छ । पहिलो चरणको कारोबारमा कायम विनिमय दरलाई स्पटदर भनिएको छ । केन्द्रीय बैंकले यसरी स्पट कारोबार गर्दा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ बिक्री गर्न पाउने व्यवस्था छ । त्यसपछि राष्ट्र बैंक र काउन्टरपार्टीबीच दोस्रो चरणको कारोबार राफसाफ हुन्छ । यसरी दोस्रो चरणमा कारोबार हुँदा कायम विदेशी विनिमय दरलाई फर्वार्ड दर भनिन्छ । यस्तो दोस्रो चरणको कारोबारमा पहिलो चरणको कारोबार रकमबराबरको अमेरिकी डलर तोकिएको मिति र तोकिएको फर्वार्ड दरमा राष्ट्र बैंकले काउन्टरपार्टीलाई बिक्री गरी नेपाली रुपैयाँ खरिद गर्ने व्यवस्था गरिएको छ ।
यो सम्पूर्ण प्रक्रियालाई स्वाप कारोबार भनिन्छ । कुल कारोबार रकमभन्दा बढी नहुने गरी प्रतिकाउन्टरपार्टी स्वाप कारोबारको न्यूनतम रकम अमेरिकी डलर १० लाख तोकिएको छ । त्यस्तै, यस्तो कारोबार बढीमा अमेरिकी डलर १० लाखले भाग गर्दा निःशेष भाग जाने गरी काउन्टरपार्टीले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँबाहेकको विदेशी मुद्रा ऋणको बक्यौता साँवा रकमसम्म हुने गरी काउन्टरपार्टीले बोलकबोल पेस गर्नुपर्ने उल्लेख छ ।
काउन्टरपार्टीले तोकिएको अवधिका लागि आफूले स्वाप कारोबार गर्न चाहेको अमेरिकी डलर रकम र सोका लागि दशमलव पछि अधिकतम दुई अंकसम्म हुने गरी फर्वार्ड दरको बोलकबोल पेस गर्नुपर्ने व्यवस्था छ ।स्वाप कारोबारका लागि स्वीकृत काउन्टरपार्टीले पहिलो चरणको स्वाप कारोबारमा बिक्री गरेको अमेरिकी डलर रकम राफसाफ मितिमा राष्ट्र बैंकको एजेन्सी खातामा जम्मा नगरेमा केन्द्रीय बैंकले फेडेरल रिजर्भ बैंकबाट प्राप्त हुने दरको हिसाबले दिनगन्तीका आधारमा जरिवाना लगाउनेछ । तर, यस्तो जरिवाना रकम अमेरिकी डलर एक सयभन्दा कम हुनेछैन ।
काउन्टरपार्टीले दोस्रो चरणको स्वाप कारोबारमा बिक्री गर्न स्वीकार गरेको नेपाली रुपैयाँ राफसाफ मितिमा उपलब्ध नगराएमा राष्ट्र बैंकले बैंकदरको हिसाबले दिनगन्ती आधारमा जरिवाना लगाउनेछ । तर, यस्तो जरिवाना नेपाली रुपैयाँ एक हजारभन्दा कम हुनेछैन ।
स्वाप कारोबारको सीमा तोक्ने अधिकार डेपुटी गभर्नर नेतृत्वको समितिलाई
स्वाप कारोबारको सीमा निर्धारण गर्ने अधिकार विदेशी विनिमय हेर्ने डेपुटी गभर्नर नेतृत्वको समितिलाई दिइएको छ । विदेशी विनिमय व्यवस्थापन विभागको कार्यकारी निर्देशक, मौद्रिक व्यवस्थापन विभागको कार्यकारी निर्देशक, आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक, बैंकिङ विभागको कार्यकारी निर्देशक, वित्त व्यवस्थापन विभागको कार्यकारी निर्देशक सदस्य रहने र विदेशी विनिमय व्यवस्थापन विभागको निर्देशक (लगानी हेर्ने) सदस्यसचिव रहने व्यवस्था विनियमावलीको छ ।
स्वाप कारोबारको रकम तथा अवधि निर्धारण गर्ने, बोलकबोल गराउने तथा अन्य आवश्यक प्रक्रिया निर्धारण गर्ने, स्वाप कारोबारका क्रममा काउन्टरपार्टीबाट पेस भएको बोलकबोलको मूल्यांकन गर्ने र बोलकबोल स्वीकृत–अस्वीकृत गर्ने काम समितिलाई तोकिएको छ ।