संकटा क्लबले दुईपटक लिएको अग्रता रक्षा गर्न नसक्दा आइतबार ललित स्मृति एन्फा यू–१८ युथ लिगमा एनआरटीसँग २–२ को बराबरीको नतिजा निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा संकटाले पहिलो हाफमा दुईपटक अग्रता लिएको थियो । दुईपटक पछि रहँदा पनि उत्कृष्ट पुनरागमन गरी एनआरटीले संकटालाई बराबरीमा रोक्यो ।
खेलको पाँचौँ मिनेटमै कृष्ण आलेमगरले संकटालाई १–० को अग्रता दिलाएका थिए । तर, संकटाको अग्रता आठ मिनेट मात्र रह्यो । एनआरटीका लागि कप्तान विज्ञान खड्काले १३औँ मिनेटमा १–१ को बराबरी गोल फर्काए । खेलको २६औँ मिनेटमा अनिश थापामगरले संकटालाई २–१ को अग्रता दिलाएका थिए । पहिलो हाफमा संकटाले सो अग्रता कायम राखे पनि दोस्रो हाफमा जोगाउन सकेन ।
एनआरटीका सन्तोष गोङ्बाले खेलको ६७औँ मिनेटमा गोल गर्दै खेल २–२ को अवस्थामा पुर्याए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन । संकटा र एनआरटीले एक–एक अंक बाँडे । पाँच खेलमा संकटाको यो तेस्रो बराबरी हो । तीन बराबरी र दुई हारबाट ३ अंक जोडेको संकटा दशौँ स्थानमा छ । पहिलो बराबरी खेलेको एनआरटीको पाँच खेलबाट १० अंक छ ।
मच्छिन्द्रले एपिएफलाई हरायो
ललित स्मृति यू–१८ लिगमा आइतबार भएको अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले एपिएफमाथि २–१ को जित निकालेको छ । एपिएफ र मच्छिन्द्रले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । खेलमा भएको तीन गोल नै दोस्रो हाफमा सम्भव भयो । खेलको ६३औँ मिनेटमा प्रसुन तामाङले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । खेलको ८९औँ मिनेटमा विकास टिटुङले पेनाल्टीमा गोल गर्दै एपिएफलाई १–१ को बराबरीमा पुर्याए । खेलको अन्तिम इन्जुरी समयको चौथो मिनेटमा भूपेन्द्र धरालाले एपिएफका गोलरक्षकको गल्तीमा २–१ का लागि गोल गरे ।
इन्जुरी समयमा एपिएफका गोलरक्षक र डिफेन्डरबीच तालमेल मिलेन । गोलरक्षकले दिएको ब्याक पासबाट आएको बल डिफेन्डरले भेट्टाउन सकेनन् । त्यसको फाइदा लिँदै भूपेन्द्रले सहजै गोल गरे । जितपछि ५ खेलमा ११ अंक बटुल्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । एपिएफ भने पाँच खेलमा ७ अंकसहित पाँचौँ स्थानमा छ ।