गोरखामा पहिरोले घर र कृषि फार्म बगाउँदा पाँचजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका सातमध्ये दुईजनाको उद्धार गरी उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पुर्याइएको छ । धार्चे गाउँपालिका– ५, ऋषिखोलामा आइतबार बिहान नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले घर र फार्म बगाएको हो । घर र फार्म बगाउँदा घरधनी जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, बुवा सुलाल कान्छा गुरुङ, कामदार रमेश गुरुङ र ट्याक्टरचालक रमेश परियार बेपत्ता भएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
पहिरोमा परी घाइते दिलीप गुरुङ र खमबहादुर गुरुङलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । दिलीपको अवस्था गम्भीर छ । उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । बेपत्ताको खोजीमा प्रहरी, नेपाली सेनासहितको २५ जनाको टोली र जेसिबी परिचालन गरिएको छ । घटनास्थल गोरखा सदरमुकामदेखि ७६ किलोमिटरको दूरीमा पर्छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले आइतबार दिनभर खोज्दा पनि बेपत्ता पाँचैजना नभेटिएको बताए । ‘बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।’ पहिराले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनले बताए । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको डिएसी श्रेष्ठको भनाइ छ ।
पहिरोले कान्ति लोकपथ अवरुद्ध
काठमाडौँ र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो । मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटाैँडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ । अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।