प्रधानमन्त्रीलाई रास्वपा सांसदको चुनौती– भ्रष्टाचार सहन्नँ भन्नेले आफ्नै मन्त्रिपरिषदबाट छानबिन सुरु गर्नुस्

‘गिरीबन्धुको फाइल खोल्नुपर्छ भन्ने सांसदको आवाज सरकारमा गएपछि बन्द भयो’

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले वर्तमान सरकार कुशासनको जगमा उभिएको आरोप लगाउँदै आफ्नै मन्त्रिपरिषदबाट छानबिन गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन्।

आइतबार  प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले भ्रष्टाचार, तस्करी र हत्या आरोपीहरूलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै मन्त्रिपरिषदबाट छानबिन सुरु गर्न चुनौती दिएका हुन्।

‘कुशासनको जगमा उभिएको अहिलेको सरकारको कर्तुत घटनाक्रमहरूले पुष्टि गर्दै छ। स्काउट लैनचौरको जग्गा हडप्नेलाई मन्त्री, सोझासाझा जनतालाई भुटानी शरणार्थी बनाउनेलाई मन्त्री, हुँदाहुँदै लुम्बिनी प्रदेशमा निर्मला कुर्मीको हत्या आरोपीलाई पनि मन्त्री । भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहन्नौँ भन्ने प्रधानमन्त्रीलाई म निवेदन गर्न चाहान्छु– छानबिनको  सुरुवात आफ्नै मन्त्रिपरिषदबाट पो गर्ने हो कि !’ उनले भने।

भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया बेचन झा  र  प्रतीक थापालाई पक्राउ गर्ने डिआइजीको दुई महिना नहुँदै सरुवा भएको विषयमा आपत्ति जनाउँदै उनले छिट्टै उनीहरू रिहा भए अनौठो नहुने बताए। चौधरीले भने, ‘भर्खरै मात्र तपाईंहरूले भुटानी शरणार्थी काण्डका नाइके बेचन झा  र बादलका छोरा प्रतीक थापालाई पक्राउ गर्ने विशेष ब्युरोका डिआइजीलाई दुई महिना नहुँदै सरुवा गर्नुभएको छ। अबको केही दिनमा बेचन झा रिहा भनेर खबर आउँछ । कसैले अचम्म नमान्दा हुन्छ।’

प्रतिपक्षमा रहँदा गिरिबन्धु टी इस्टेटको फाइल खोल्नुपर्छ भन्ने सांसदहरूको आवाज पार्टी सरकारमा गएपछि बन्द भएको भन्दै चौधरीले थपे, ‘प्रतिपक्षमा रहँदा गिरिबन्धुको फाइल खोल्नुपर्छ भन्ने माननीयज्यूहरू कता पो हुनुहुन्छ । आजकाल आवाज बन्द जस्तै छ । कोही त मन्त्री पनि बन्नुभएको छ। सायद पद जाने डरले घाँटी खसखस भएर पनि शान्त बस्नुभएको होला ।’

सुझावित समाचार