डिआइजी केसीको सरुवाले यो सत्तागठबन्धन किन बनेको थियो भन्ने पुष्टि भयो : रास्वपा

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका अब्बल डिआइजी मनोज केसीलाई सरुवा गरेर सरकारले यो सत्तागठबन्धन किन बनाइएको थियो भन्ने पुष्टि गरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद ढकालले यस्तो बताएका हुन्। रास्वपाले सुशासनको पक्षमा अघिल्लो सरकारले गरिरहेका काम र भ्रष्टाचारविरुद्ध भइरहेका अनुसन्धान रोक्नकै लागि कांग्रेस र एमालेले वर्तमान सत्तागठबन्धन बनाएको बताउँदै आएको थियो।

‘यो गठबन्धन कुन उद्देश्यले गठन भएको छ भनेर हामी भनेका थियौँ, त्यो पुष्टि भएको छ,’ सांसद ढकालले भने, ‘सरकारले सदनबाट विश्वासको मत लिएको दुई दिनभित्रै अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी मनोज केसीको सरुवा गरिनु त्यसैको कारण थियो।’

उनले वर्तमान सरकार गठन हुँदा नै गलत कदम चालिएको भन्दै अनुसन्धान गर्नुपर्नेहरूलाई मन्त्रीको जिम्मेवारी दिइएको तथा प्रदेश सरकारहरूमा गुन्डानाइकेहरू, अपहरण, फिरौती, ज्यान मार्ने र हातहतियारसम्बन्धी अपराधमा जोडिएकाहरूलाई मन्त्री बनाइएको भन्दै कांग्रेस–एमालेको आलोचना गरे।

सुझावित समाचार