सात्विक र हलाल खानाबीचको बहस

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

खानाको सात्विकतालाई सम्बोधन गर्न खानालाई नै परिभाषित गर्नुको सट्टा प्रदायकको ‘सात्विक’ स्थिति प्रमाणित गर्न खोजिँदै छ

अहिले सात्विक र हलाल खानाबीच प्रतिस्पर्धा चलिरहेको छ । उत्तर प्रदेश सरकारले हिन्दूले आफ्नो खाना सात्विक छ कि छैन भन्ने थाहा पाउने अधिकार रहेको दाबी गर्दै यसको प्रामाणिकता पुष्टि गर्ने वाचा गरेको थियो । फरक क्षेत्रीय परिभाषा र आधिकारिक प्रमाणीकरण नभए पनि सरकारले पसल र तिनका कर्मचारीलाई आफ्नो पहिचान घोषणा गर्नमा जोड दिएको थियो । स्वामित्व पहिचानले खानाको सात्विक स्थिति कसरी निर्धारण गर्छ भन्ने स्पष्ट नभएकाले यो कदममाथि प्रश्न उठेको थियो÷छ ।

उत्तर प्रदेश, उत्तराखण्ड र मध्यप्रदेशका सरकारले सात्विकता सुनिश्चित गरेर हिन्दू सांस्कृतिक अधिकारको रक्षा गर्ने दाबी गरेका छन् । त्यसमाथि उत्तर प्रदेशले हलाल प्रमाणीकरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसलाई मुसलमानको धार्मिक एवं सांस्कृतिक अधिकारको मूल्यमा हिन्दू हित रक्षा गर्ने कदमका रूपमा लिइएको छ । हलाल केवल मासुमा मात्रै नभई कस्मेटिक्स उत्पादनमा पनि हुने गर्छ, अर्थात् हलाल प्रतिबन्धले अन्य क्षेत्रमा पनि असर गर्ने देखिन्छ ।

यसबारे थप चर्चा गर्नुअघि पसलका मालिकको नामले पसलले बिक्री गर्ने वस्तु सात्विक हुन् वा होइनन् भनेर कसरी तय हुन्छ भन्ने प्रश्न गरौँ । हिन्दू सात्विक वस्तुमा के–के पर्छन्, स्पष्ट छैन । हामीले रेल वा विमानमा जैन खाना पाउँछौँ, तर हिन्दू वा मुसलमान खाना पाउँदैनौँ । प्याज र लसुन नहुने खाना सात्विक हो ? वा माछामासु सात्विक हो कि होइन ? हो भने कस्तो मासुलाई सात्विक मान्ने ? अथवा केही अन्य प्रतिबन्ध पो छन् कि ? सात्विकलाई परिभाषित गर्ने सबै प्रयासका बाबजुद हामी एउटै निष्कर्षमा पुग्न सक्दैनौँ ।

धर्मशास्त्रले समय र स्थानका आधारमा ‘निषिद्ध’ (वर्जित) खानाको परिभाषा दिने गर्छ, जसले विश्वभरका हिन्दूबीच सात्विक भोजन र आचरणमा विविधता ल्याएको छ । मुसलमानका लागि हलाल विश्वव्यापी मानक भएजस्तो हिन्दूको विश्वव्यापी सात्विकको परिभाषा छैन । यसलाई सम्बोधन गर्न खानालाई नै परिभाषित गर्नुको सट्टा प्रदायकको ‘सात्विक’ स्थिति प्रमाणित गर्न ध्यान केन्द्रित हुँदै छ । यसमा भान्साकोठामा कसले प्रवेश गर्न सक्छ वा सक्दैन भन्ने पर्छ न कि कुन सामग्री प्रयोग गरियो भन्ने । एक टेलिभिजन बहसमा दिल्ली विश्वविद्यालयका एक प्राध्यापकले साउनको पवित्र महिनामा भक्तजनले विक्रेताले नुहाइधुवाइ गरेको थाहा पाउनुपर्ने दलिल पेस गरेका दिए । वाचिकाले हिन्दू वा मुसलमानको पसलका लागि यो कसरी निर्धारण गर्न सकिन्छ भनेर प्रश्न गरेकी थिइन् अर्थात् हिन्दूले नुहाएकै हुनुपर्छ र मुसलमानले नुहाएको हुँदैन भन्ने कसरी पत्ता लगाउने ? सो बहसले शुद्धतामा आधारित छुवाछुतको ऐतिहासिक धारणालाई प्रतिध्वनित गर्दै वस्तुको शुद्धता विक्रेताको प्रकृतिले निर्धारण गर्छ भन्ने विश्वासलाई प्रकाश पारेको थियो ।

सात्विकताको बहस बजारको कथित इस्लामीकरणको चिन्तासँग जोडिएको छ । हलालको संज्ञा अब मासुबाहिर लिपस्टिक, लुगा र औषधीजस्ता उत्पादनमा विस्तार भएको छ भन्ने तर्क गर्दै प्राध्यापक हलाल रोकिनुपर्ने बताउँछन् । सात्विकताको विश्वव्यापी हिन्दू परिभाषाको अभाव भए पनि मुसलमानका लागि हलाल धार्मिक रूपमा स्वीकार्य छ । तसर्थ, पर्यवेक्षक मुसलमानले औषधी वा सौन्दर्य प्रसाधनमा प्रतिबन्धित सामग्री छन् कि छैनन् भनेर जान्न खोज्छन् ।

मुसलमानका लागि हलाल भएको वस्तु प्रयोग गर्न हिन्दूले किन आपत्ति जनाउने ? के मुसलमानका लागि हलाल हिन्दुका लागि हराम (अशुद्ध) हो ? हलाल प्रमाणीकरणले मुसलमानको अधिकार रक्षा गर्छ र कुनै पनि कोणबाट हिन्दूको अधिकार उल्लंघन गर्दैन । त्यसो भए हलाल प्रमाणीकरणको विरोध किन ? किन प्रतिबन्ध लगाउने ? के यसका पाछाडिको नियत मुसलमानलाई तिनको धार्मिक वा सांस्कृतिक अधिकारबाट वञ्चित गर्नु मात्रै होइन र ? हिन्दूका लागि सात्विकता कायम राख्न मुसलमानमा भर पर्न सकिँदैन भन्ने दाबी गरिँदै छ । मुसलमानको विश्वास नगर्ने मानिससँग कसरी संलग्न हुन सकिन्छ ? यस्ता तर्कले वस्तुमा शुद्धताको एक मात्र आश्वासन भनेको ती वस्तु उपयुक्त ठानिएको व्यक्तिबाट आएको सुनिश्चित गर्नु हो, अर्थात् प्रभावकारी रूपमा वस्तु प्रस्तुत गर्ने व्यक्ति मुसलमान हुनु हुँदैन भन्ने हो ।

यो सम्पूर्ण मामिलामा प्रश्न ‘के’ नभई ‘कसको’ हो भन्ने देखिन्छ । अर्थात्, हामीलाई तपाईंको नाम बताउनुहोस् ताकि हामी तपाईंसँग कसरी व्यवहार गर्ने वा नगर्ने निर्णय लिन सक्छौँ । वास्तवमा यसलाई अस्पृश्यता भनिन्छ । हामीले सहयात्रीको नाम सोध्ने र पूरा नाम नआएसम्म सोधिरहने प्रवृत्ति देखेका छौँ । अर्थात्, नाम रामकुमार हो भन्ने थाहा पाए पनि सन्तुष्टि हुँदैन । हामीलाई रामकुमारको थर के हो पनि थाहा हुनुपर्छ । यो खुलासा नभएसम्म अर्को व्यक्तिको पहिचान अस्पष्ट अर्थात् शंकास्पद रहन्छ । 

मुसलमानले आफ्नो सन्तानको नाम वकिल राख्छन् र हिन्दूले पनि यो नाम राख्न सक्छन् । समीर, खुस्बुजस्ता नाम दुवै समुदायमा पाइन्छन् । यसैकारण उत्तर प्रदेश प्रहरीले वकिललाई वकिल अहमद, खुस्बुलाई खुस्बु फातिमा, समीरलाई समीर अन्सारी हुन् भनेर प्रस्ट गर्न आग्रह गरेको थियो । यस्तै प्रवृत्ति चल्ने हो भने भविष्यमा मुसलमानलाई आफूलाई मनपर्ने नाम नराख्ने आदेश पनि जारी हुन सक्छ । अर्थात्, मुसलमानको मुस्लिम उच्चारण आवश्यक छ, ताकि हिन्दूले मुसलमानसँग कस्तो व्यवहार गर्ने भनेर निर्णय गर्न सकून् । उत्तर प्रदेशको कदम हिन्दू धार्मिक अधिकार रक्षाबारे नभई मुसलमानको उत्पीडन, प्रताडना र अपमान गर्दै सम्भावित रूपमा तिनलाई जीविकोपार्जनको अधिकारबाट वञ्चित गर्नु रहेको छ ।

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी प्राध्यापन गर्छन्) 
द वायरबाट

सुझावित समाचार