निर्मला पन्त हत्याको ६ वर्ष
कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिहीबार ६ वर्ष पूरा भएको छ । १० साउन ०७५ मा घरबाट साथीको घरमा होमवर्क गर्न हिँडेकी उनको भोलिपल्ट ११ साउन उखुबारीमा शव फेला परेको थियो । उनको हत्या भएको ७२ महिना बित्दा पनि वास्तविक हत्यारा अझै पहिचान भएको छैन ।
यसबीचमा पाँच गृहमन्त्री, पाँच आइजिपी, आठ डिआइजी र नौ एसपी परिवर्तन हुँदा पनि दोषी अहिलेसम्म खुल्न सकेको छैन । त्यसवेला केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्कालीन डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानले निर्मलाको हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका– १९ बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, वास्तविक हत्यारा अर्कै भएको भन्दै आफन्त, अधिकारकर्मीले आन्दोलन चर्काएका थिए । निर्मलाको न्यायका लागि भन्दै सुरु भएको आन्दोलनमा बालक सन्नी खुनाले ज्यान गुमाएका थिए ।
यो ६ वर्षमा रामबहादुर थापा बादल, बालकृष्ण खाण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र अहिले रमेश लेखक गृहमन्त्री भए, तर अनुसन्धान अझै पूरा भएको छैन । निर्मलाको हत्या हुँदा नेपाल प्रहरीको महानिरीक्षक सर्वेन्द्र खनाल थिए । उनीपछि ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धिरजप्रताप सिंह र वसन्तबहादुर कुँवर बने । सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्यांकनुसार निर्मलाको हत्या हुँदा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरज केसी थिए । त्यसपछि क्रमशः डिआइजीहरू तारणीप्रसाद लम्साल, उत्तम सुवेदी, पुरुषोत्तम कँडेल, मोहनकुमार आचार्य, अशोक सिंह, निमित्त प्रदेश प्रमुख एसएसपी जनकराज पाण्डेय, निमित्त तथा प्रदेश प्रमुख भरतबहादुर बोहरा, हाल डिआइजी रवीन्द्र केसी प्रदेश प्रहरी प्रमुख छन् । यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा एसपी दिल्लीराज विष्ट, कुवेर खडायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमाप्रसाद चतुर्वेदी, श्यामसिंह चौधरी, कमल थापा र चक्रराज जोशीले कमान्ड सम्हालिसकेका छन् ।
निर्मलाको न्यायका लागि सुरु भएको आन्दोलनपछि गृह मन्त्रालयले ७ भदौ ०७५ मा कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठीको सरुवा गर्दै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा डिआइजी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । यस्तै, एसएसपी उत्तमराज सुवेदी, एआइजी धीरु बस्न्यातको नेतृत्वमा पनि समिति बनाइयो । मैनाली र बस्न्यातको समितिले अनुसन्धानमा खटिएका प्रहरीलाई कारबाही सिफारिस गर्नुबाहेक घटनाबारे यथार्थ पत्ता लगाउन सकेन । डिएनएविज्ञ जीवन रिजालको संयोजकत्वमा अर्को समिति बनाइयो । यो समितिले भने डिएनएलाई मात्रै आधार नमान्न र अनुसन्धानको दायरा फराकिलो गर्न सुझाव दिएको थियो । डिएनएबाहेक अन्य प्रमाणबाट कसुर पुष्टि हुने अवस्था देखिएमा प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउने बाटो रिजालको समितिले खोलिदिएको थियो ।
हत्याको अनुसन्धान गर्न तत्कालीन डिआइजी सुरज केसीको नेतृत्वमा अर्को समिति गठन भयो । केसी नेतृत्वको समितिले एआइजी बस्न्यात नेतृत्वको समितिले बनाएको प्रतिवेदन खारेज गरिदियो । हालसम्म ६ समिति गठन हुँदासमेत उपलब्धि शून्य छ ।
महिला अधिकारकर्मी शारदा चन्दले ६ वर्षसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्नु दुःखद भएको बताइन् । ‘वर्तमान गृहमन्त्री रमेश लेखकले अब निर्मलालाई न्याय दिनुपर्छ, यसअघि जिल्लाबाहिरका गृहमन्त्री हुँदा केही भएन । अहिले हाम्रो जिल्लाले गृहमन्त्री पाएको छ, गृहनगरले गृहमन्त्री पाएपछि निर्मलाले न्याय पाउने आशा लिएकी छु,’ उनले भनिन् । चन्दले उतिवेला अहिलेका गृहमन्त्री लेखकले आफ्नो पार्टी सत्ताबाहिर हुँदा निर्मलाको विषयमा व्यापक मुद्दा उठान गरेको बताउँदै अब आफैँ गृहमन्त्री हुँदा निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्ने उनले बताइन् ।
निर्मला हत्याका दोषी सार्वजनिकको माग अघि सारेर संघर्ष गर्दै आएको दबाबमूलक संघर्ष समितिकी संयोजक हेलेन श्रेष्ठले सरकारलाई हत्यारा थाहा हुँदाहुँदै पनि सार्वजनिक नगरेको दाबी गरिन् । ‘६ वर्ष भइसक्यो, अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन, गरेको पनि विवादित भयो,’ उनले भनिन्, ‘अहिलेसम्म गृहमन्त्री बाहिरका थिए, अहिले निर्मलाकै गृहनगरका नेता रमेश लेखक छन्, अब निर्मलाले न्याय पाउने आस पलाएको छ ।’
नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले ६ वर्ष बितिसक्दा पनि निर्मलाका बलात्कारी हत्यारा सार्वजनिक नहुनु दुःखद भएको बताइन् । अहिलेका गृहमन्त्री लेखक निर्मलाकै निर्वाचन क्षेत्रका भएकाले अन्य गृहमन्त्रीभन्दा उनीप्रति ठूलो अपेक्षा रहेको उनको भनाइ छ । ‘यसअघि गृहमन्त्री भएकालाई यहाँका स्थानीय परिवेश पनि थाहा थिएन, उनीहरू गम्भीर भएनन्, अहिलेका गृहमन्त्रीज्यूलाई निर्मलाको हत्याकाण्डबारे पूरै थाहा छ, उहाँले निर्मलाको हत्यारा पत्ता लगाएर सार्वजनिक गर्ने आशा छ,’ उनले भनिन् ।
निर्मला हत्याकाण्डको अनुसन्धान जारी छ : कञ्चनपुर प्रहरी
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले निर्मला हत्याकाण्डको अनुसन्धान निरन्तर भइरहेको बताए । एसपी जोशीले हालसम्म ६५६ व्यक्तिमाथि अनुसन्धान भएको बताए । ‘५९ जनासँग कागज गराएर अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘एकजनामाथि अहिले पनि अनुसन्धान चलिरहेको छ ।’ १६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको एसपी जोशीले बताए ।