ललितपुरको गोदावरीमा रहेको सुधारगृहबाट आएका थप दुईजनामा हैजा पुष्टि भएको छ। प्रारम्भिक रिपोर्टमा हैजा देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप नमुना परीक्षण गर्दा हैजा पुष्टि भएको हो।
हैजा पुष्टि हुनेमध्ये उपचारको क्रममा बुधबार टेकु अस्पतालबाट भागेका एक युवक र हाल पाटन अस्पतालमा उपचाररत अर्का एकजना रहेकाे टेकु अस्पतालले जनाएको छ।
ललितपुरको गोदावरीका एक बालकमा हैजा पुष्टि भएपछि शंकास्पद लक्षण देखिएका अन्यलाई समेत टेकु अस्पताल ल्याइएको थियो। तर, उपचारकै क्रममा तीनजना भने अस्पतालबाट भागेका थिए। भागेकामध्ये एक र मिर्गौलामा समस्या देखिएर पाटन अस्पताल रिफर गरिएका एक गरी दुईजनामा हैजा पुष्टि भएको अस्पतालका निर्देशक डा. युवाविधि बसौलाले जानकारी दिए।
उनले भने, ‘अस्पतालबाट भागेका २१ वर्षीय एकजना र पाटन अस्पताल रिफर गरिएका ५० वर्षीय बिरामीमा हैजा रहेको पुष्टि भएको हो।’
यसअघि गत शुक्रबार नै अस्पताल ल्याइएका गोदावरी नगरपालिका–१४ ठैबस्थित सुधारगृहमा रहेका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको थियो। हाल टेकु अस्पतालमै उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आउँदै गएको अस्पतालले जनाएको छ। योसँगै हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ।