१९ जना बोकेको जहाज दुर्घटनामा पाइलट मात्र जीवित, मर्मत गर्न लगिँदै गरेको जहाजमा प्राविधिकबाहेकका व्यक्ति राखिनु गम्भीर लापरबाही
नियमित सम्पूर्ण परीक्षण (सी–चेक)का लागि सौर्य एयरलाइन्सको जहाज सिआरजे–२०० बुधबार बिहान पोखरा लगिँदै थियो । ९एन–एनएएमई कलसाइन नम्बरको ५० सिटे जहाज उडान गर्न ट्याक्सी वे हुँदै ‘रनवे ०२’ (कोटेश्वरतर्फ)मा पुग्यो । एयर ट्राफिक कन्ट्रोल (एटिसी)ले ११ः११ बजे जहाज उडानको अनुमति दियो । एटिसीले ‘क्लियर टु टेकअफ’ भन्नेबित्तिकै जहाज धावनमार्गमा कुद्न थाल्यो । रनवेको इन्टरसेक्सनमा रहेको डेल्टा डीबाट जहाजले धावनमार्गको भुइँ छाड्यो ।
भुइँ छाडेको करिब २० सेकेन्डमै जहाज असन्तुलित भएर ढलपल गर्न थाल्यो । प्रत्यक्षदर्शीका अनुसार सुरुमा जहाज देब्रेतर्फ मोडियो । पाइलटले जहाजलाई दाहिने मोड्दै नियन्त्रणमा लिने प्रयास गरेको देखिन्थ्यो, तर नियन्त्रणमा आउन सकेन । लगत्तै जहाज दाहिनेतर्फ कोल्टे मोडिएर भुइँतर्फ झरेपछि दायाँतर्फको पँखेटाले ट्याक्सी वे छुन पुग्यो । जहाज ट्याक्सी वेबाट घाँसेमैदान हुँदै विमानस्थल उत्तरपूर्वको छेउमा रहेको एयर डाइनेस्टीको कन्टेनरलाई हुत्याउँदै तल खोँचमा बजारिन पुग्यो ।
विमानस्थलको पेरिफेरी मार्ग कटेर घाँसेमैदानमा पुग्दा जहाजको पखेटातिर आगो लाग्न सुरु भइसकेको थियो । मैदानमा धसारिँदा जहाज टुक्रिँदै गइरहेको थियो । तीव्र गति (फुल स्पिड)मा रहेको जहाजको अगाडिको भाग एयर डाइनेस्टीको कन्टेनरमा ठोक्कियो । कन्टेनरसहित डिलबाट तल खोँचमा खस्दा दुई टुक्रा भयो । ककपिटतर्फको भाग कन्टेनरसँगै खोँचमा खस्यो भने पछाडिको भाग उछिट्टिँदै पारिपट्टि ढिस्कोमा ठोक्किएर गोठाटारतिरको गहिरो जमिनमा बजारियो । पछाडिको अधिकांश भाग जल्यो । जहाजमा सवार अधिकांश पछाडिकै भागमा थिए । त्यहाँबाट १६ जनाको शव निकालियो । आगो ढिलो र कम लागेको कटपिटपट्टिको भागबाट क्याप्टेन मनीषरत्न शाक्यलाई जीवितै उद्धार गरियो । दुई जनाको शव निकालियो ।
जहाजमा रहेका को–पाइलट, सौर्य एयरका प्राविधिक र कर्मचारी तथा उनीहरूका आफन्तसहित १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यी सबै घटना जहाज टेकअफका लागि धावनमार्गको कोटेश्वरतर्फबाट कुदेको करिब एक मिनेटभित्रै भइसकेको नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । जहाज अनियन्त्रित भएर जमिनमा धसारिन थालेपछि कन्ट्रोल टावरले क्र्यास साइरन बजाएको थियो । टावरले साइरन बजाउनेबित्तिकै विमानस्थलमा आपत्कालीन समय सुरु हुन्छ । फायर फाइटिङ टिम सतर्क भयो । अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड गरियो भने उडानको तयारीमा रहेका जहाज जहाँको त्यहीँ होल्ड भए ।
‘जहाज टेकअफ भएको करिब २० सेकेन्डमै दुर्घटना भएको देखिन्छ । ११ः११ बजे उडेको जहाज क्र्यास हुनेबित्तिकै ११ः१३ बजे त विमानस्थलको दमकलले पानीका फोहोरा फालेर आगो निभाइरहेको भिडियो क्लिपहरूबाट थाहा हुन्छ,’ भुलले भने, ‘दुर्घटना कसरी भयो भन्ने अनुसन्धानबाट खुल्ला । तर, विमानस्थलपरिसरमै दुर्घटना भए पनि त्यहाँ दमकल लैजान सहज थिएन, सुरुमा माथि डिलबाटै पानीका फोहोरा फालेर आगो निभाउने र उद्धारको काम गरिएको थियो ।’
फुल स्पिडमा भुइँमा धसारिँदै अगाडि बढेको जहाजलाई एयर डाइनेस्टीको कन्टेनरले कन्ट्रोल गरेको देखिन्छ । ‘कन्टेनरले जहाजको दिशा र गति परिवर्तन गरिदिएको देखिन्छ, यदि कन्टेनर हुँदैन थियो भने जहाज उछिट्टिएर बस्तीमै पुग्ने र अझ ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना थियो,’ भुलले भने, ‘जहाज कन्टेनरमा ठोक्किएपछि केही भाग ढिस्कोमुनि कन्टेनरसँगै खस्यो, पछाडिको भाग कुनातर्फको पाखोमा ठोक्किएर तल खाली जमिनमा बजारिन पुग्यो ।’
के हो सी–चेक, किन पोखरा लगिँदै थियो ?
जहाजको सम्पूर्ण परीक्षण तथा मर्मतसम्भारलाई एयरक्राफ्ट भाषामा सी–चेक भनिन्छ । सौर्य एयरलाइन्सको जहाज सी–चेककै लागि बुधबार पोखरा लगिँदै थियो । कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार क्यानको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ह्यांगरमा सी–चेक गर्न एप्रुभल लिएकाले जहाज पोखरा पठाइएको हो । प्रत्येक दुई वर्षमा सी–चेक गर्नुपर्ने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् । उनका अनुसार सौर्यले जहाज बिग्रिएर मर्मत गर्न नभई नियमित रूपमा गरिने सम्पूर्ण परीक्षणका लागि पोखरा पठाएको थियो ।
‘दुर्घटनामा परेको जहाजको अझै ११९ घण्टा फ्लाइङ आवर थियो, त्यसपछि सी–चेक गर्दा पनि हुन्थ्यो,’ भुलले भने, ‘जहाजको सम्पूर्ण परीक्षणका लागि २५ दिन समय लाग्छ, अहिले अफसिजन छ, दसैँ–तिहारको व्यस्त सिजनमा जहाज ग्राउन्डेड गरेर सी–चेक गर्नुभन्दा कम्पनीले पहिल्यै सी–चेक गर्न अनुमति मागेको थियो ।’ दुर्घटनामा परेको जहाज पछिल्लोपटक २६ अप्रिल २०२४ मा चेकजाँच र मर्मत गरिएको क्यानले जनाएको छ । एयरलाइन्सको एयरवर्थिनेस सर्टिफिकेट (उडान योग्यताको प्रमाणपत्र)समेत अप्रिल २०२५ सम्म एक्टिभ रहेको उनको भनाइ छ । त्यसैले छानबिन तथा अनुसन्धानविना जहाजमाथि कैफियत देखाइहाल्न नमिल्ने उनले बताए ।
यसअघि सौर्य एयरलाइन्सले विदेशमा लगेर जहाजको सी–चेक गर्दै आएको थियो । तर, स्वदेशमै सी–चेक गराउँदा खर्च पनि कम लाग्ने भएकाले आफ्नै प्राविधिक र विदेशी प्राविधिक झिकाएर यहीँ गर्न थालेको थियो । जहाज मर्मतसम्भारका लागि त्रिभुवन विमानस्थलमा बुद्ध एयर, नेपाल वायुसेवा निगम र आर्मीको आफ्नै ह्यांगर छन् । नियामक निकाय क्यानको ह्यांगर भने पोखरा र नेपालगन्जमा छन् । आफ्नै ह्यांगर नहुने वायुसेवा कम्पनीले त्यहीँ लगेर मर्मतसम्भार गर्छन् । आफ्नै ह्यांगर नभएको सौर्यले पनि क्यानसँग एप्रुभल लिएर जहाज सी–चेकका लागि पोखरा लैजान लागेको थियो ।
जाँचबुझ आयोग गठन
दुर्घटनाको शोकमा सरकारले बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । दुर्घटनाको जाँचबुझका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एरोस्पेस इन्जिनियरिङका प्राध्यापक डा. सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोललाई सदस्यसचिव तोकिएको छ । आयोगलाई ४५ दिन म्याद दिइएको छ । मन्त्रिपरिषद् बैठकले आगामी दिनमा दुर्घटना हुन नदिन सबै आन्तरिक उडान गर्ने जहाजको प्राविधिक जाँच गर्ने र प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णयसमेत भएको छ ।
सौर्यसँग अब एउटा मात्र जहाज, उडान अनिश्चितकालका लागि रद्द
सौर्यसँग जेट इन्जिन बम्बार्डियर सिआरजे– २०० सिरिजका तीन जहाज थिए । एउटा लामो समयदेखि ग्राउन्डेड छ, जसका कतिपय पार्टपुर्जा झिकेर अन्य जहाजको मर्मतमा प्रयोग गरिएको छ । नियमित उडानमा रहेको एउटा जहाज बुधबारको दुर्घटनामा ध्वस्त भयो । अब नियमित उडानका लागि एउटा मात्र जहाज छ ।
कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार तीनवटा एटिआर जहाज ल्याउने योजना छ । यसका लागि पर्यटन मन्त्रालयबाट स्वीकृति पाइसकेको छ । दुर्घटनासँगै सौर्यले आफ्ना नियमित उडान अनिश्चितकालका लागि रद्द गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस एयरलाइन्सका सम्पूर्ण उडानहरू अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि रद्द गरिएको छ ।’ सौर्यले दैनिक विराटनगर तीन र भद्रपुरमा तीन उडान गर्दै आएको थियो । यी उडान नियमित गर्न कम्तीमा दुई जहाज आवश्यक पर्छ । त्यस्तै, दुर्घटनामा जहाजसँगै उच्च व्यवस्थापक, पाइलट र ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी गुमाएकाले जनशक्तिको अभाव खड्किने देखिन्छ ।
त्रिभुवन विमानस्थलपरिसरमै पाँच ठूला दुर्घटना
आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधासम्पन्न र सर्वाधिक सुरक्षित मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमै पाँच ठूला दुर्घटना भएका छन् । यीमध्ये एउटा दुर्घटना मात्रै मानवीय क्षति हुनबाट जोगिएको थियो । त्रिभुवन विमानस्थलमा पहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा भएको थियो । त्यसवेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो भने २३ घाइते भएका थिए । त्यस्तै, २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटनामा एकको मृत्यु भएको थियो ।
४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवेभन्दा बाहिर जाँदा दुर्घटनामा पर्यो । विमानमा सवार २३५ यात्रु घाइते भएका थिए । उक्त दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । जहाज धावनमार्गमा अड्किँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो । त्यस्तै, मार्च २०१८ मा बंगलादेशबाट आएको युएस–बाङ्ला एयरलाइन्सको जहाज पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो । पछिल्लोपटक मानवीय क्षति हुने गरी बुधबार (९ साउन ०८१) सौर्य एयरको जहाज दुर्घटनामा परेको छ ।
मृतकलाई २० हजारदेखि एक लाख डलरसम्म क्षतिपूर्ति
एयरलाइन्स कम्पनीहरूले अनिवार्य रूपमा जहाज र यात्रुको बिमा गर्नुपर्छ । दुर्घटना भएको अवस्थामा क्षतिको दायित्व बिमा कम्पनीले व्यहोर्नुपर्छ । बुधबार दुर्घटनाग्रस्त जहाजको बिमा प्रभु इन्स्योरेन्समा छ । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्चित बज्राचार्यले उक्त विमानको बिमा आफ्नो कम्पनीमा भएको जानकारी दिए । त्यसमा करिब ३० करोड रुपैयाँबराबरको दाबी पर्ने अनुमान गरेको उनले बताए । पाइलट र को–पाइलटको एक लाख डलर, एयर होस्टेजको ४० हजार डलर र यात्रुको २० हजार डलरको दरमा बिमा गरिएको हुन्छ । कम्पनी स्टाफको हकमा पनि तहअनुसार फरक–फरक दरमा बिमा गरिएको हुन्छ । दुर्घटनामा मृत्यु भएका यात्रुको हकवालाले सोहीअनुसार बिमा दाबी अर्थात् क्षतिपूर्ति पाउनेछन् ।
पाइलट मनिषरत्न शाक्यको उपचार खर्च पनि बिमा कम्पनीले नै व्यहोर्नेछ । दुर्घटनाग्रस्त विमानमा भएको भौतिक नोक्सानीको क्षतिपूर्ति पनि बिमा कम्पनीबाट हुनेछ । यात्रुको सामानमा भएको क्षति, उद्धार गर्दा भएको खर्च, एम्बुलेन्स भाडालगायतको दायित्वसमेत बिमा कम्पनीले व्यहोर्नुपर्छ । यसका लागि तत्काल ३० करोड हाराहारीमा दाबी पर्ने अनुमान गरिएको सिइओ बज्राचार्यले बताए । ‘यद्यपि, अब हामीले यसको सर्भे गर्नेछौँ । त्यसको प्रतिवेदनले यसको पूर्ण विवरण आउनेछ,’ उनले बताए ।
नेपालमा ६१ हवाई दुर्घटना, ९१५ ले गुमाए ज्यान
बुधबार सौर्य एयरलाइन्ससहित नेपालमा हालसम्म ६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा ९१५ को ज्यान गएको छ । सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ ।
१ माघ ०७९ पछि नेपालमा मानवीय क्षति हुने गरी जहाज दुर्घटना भएको भने बुधबार नै पहिलो हो । १ माघ ०७९ मा यती एयरलाइन्सको एटिआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो क्षति भएको पनि यही दुर्घटनामा हो । बुधबार सौर्य एयरलाइन्सको दुर्घटनामा भने १८ जनाको मृत्यु भएको छ ।
५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो । त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे । १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका सात जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गाे र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए । १६ मे २०१८ मा मकालु एयरको जहाज सिमकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो ।
नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ । तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलोपटक ७० वर्षअघि (३० अगस्ट १९५५ मा) कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । जसमा दुईको मृत्यु र एक घाइते भएका थिए । जहाज अवतरणको क्रममा रन–वेबाट चिप्लिने, टायर पड्किने, इन्जिन फेल हुने, आगो निस्कने, ल्यान्डिङ गियर अड्किनेजस्ता साना–ठूला दुर्घटना धेरैपटक भएका छन् । यस्ता केही दुर्घटनामा यात्रु सामान्य घाइते भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
कमजोरी पत्ता लगाउन प्रधानमन्त्री ओलीको निर्देशन, शीर्ष नेताबाट दु:ख व्यक्त
प्रधानमन्त्री केपी ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन निर्देशन दिएका छन् । विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरण र सुरक्षाकर्मीबाट ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन पनि निर्देश गरेका छन् । ‘यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहुन् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभयो । घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयो,’ प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा छ ।
त्यस्तै, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि दु:ख व्यक्त गरेका छन् । ‘दुर्घटनामा परी दिवंगत हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरूको आत्माको चिरशान्तिको कामनाका साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घटनाप्रति दु:ख व्यक्त गर्दै छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ‘सौर्य एयरलाइन्सको एन–एएमई विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको छ । म नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ प्रचण्डले भनेका छन् ।
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुर्घटनाको वास्तविक कारण यथासम्भव पत्ता लगाउन, नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन र आउँदा दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएर डेढ दर्जनको दु:खद निधन हुनु अत्यन्त पीडादायी र चिन्ताजनक अवस्था भएको बताएका छन् । दुर्घटनाको निष्पक्ष छानबिन गरेर शीघ्र प्रतिरोधात्मक व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् ।
राजेशराज दली, पूर्वमहानिर्देशक नागरिक उड्डयन प्राधिकरण
मर्मत गर्न लगिएको जहाजमा केही प्राविधिक समस्या हुन सक्छ । इन्जिन फेल भएर पनि यस्तो घटना भएको हुन सक्छ । जहाजले आवश्यकताअनुसार गति नलिई टेकअफ लिँदासमेत समस्या आउन सक्छ । दुर्घटनाको ठोस कारण त छानबिनले बाहिर ल्याउला ।
ज्ञानेन्द्र भुल, सूचना अधिकारी, नागरिक उड्डयन प्राधिकरण
जहाज टेकअफ भएको करिब २० सेकेन्डमै दुर्घटना भएको देखिन्छ । ११:११ बजे उडेको जहाज क्र्यास हुनेबित्तिकै ११:१३ बजे त विमानस्थलको दमकलले पानीका फोहोरा फालेर आगो निभाइरहेको भिडियो क्लिपहरूबाट थाहा हुन्छ । दुर्घटना कसरी भयो भन्ने अनुसन्धानबाट खुल्ला । तर, फुल स्पिडमा भुइँमा धसारिँदै अगाडि बढेको जहाजलाई एयर डाइनेस्टीको कन्टेनरले केही कन्ट्रोल गरेको देखिन्छ । कन्टेनरले जहाजको दिशा र गति परिवर्तन गरिदिएको देखिन्छ, यदि कन्टेनर हुँदैन थियो भने जहाज उछिट्टिएर बस्तीमै पुग्ने र अझ ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना थियो ।