लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्नबाट वञ्चित गरिएपछि एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दलकाे नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।
दलको नेताले राजीनामा दिएपछि प्रमुख सचेतक तथा सचेतकसमेत पदमुक्त हुने गर्छन् । गिरीले राजीनामा दिए पनि राजीनामा स्वीकृत भएको जानाकारी प्राप्त नभएको चौधरीले बताए ।
लुम्बिनी प्रदेशमा कांग्रेस–एमालेको गठबन्धनमा संसदीय दलको नेताको हैसियतले गिरी मुख्यमन्त्री नियुक्त हुने भनेर चर्चा चुलिएका वेला उनको नाम हटाइएको थियो । पार्टी महासचिव शंकर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएको भन्दै गिरी पक्ष असन्तुष्ट रहेको छ ।
गिरीले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर निर्णय भएको बताएका छन् । असन्तुष्ट गिरी आज मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरूको शपथ कार्यक्रममा पनि उपस्थित भएनन् ।