आफूलाई नेपाल प्रहरी बताउँदै विभिन्न मानिस तथा व्यापारीसँग मोटरसाइकल र रकम ठग्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीको आवरणमा ठगी गरेको आरोपमा प्रहरीले बाराको फेटा गाउँपालिका– ७ निवासी ४५ वर्षीय सहाबुद्दिन अन्सारीलाई पक्राउ गरेको हो ।
अन्सारीले गत जेठ ३२ गते साँझ ४ बजे जिल्लाको महागढीमाई नगरपालिका– ८ जोलगावानिवासी ५५ वर्षीय सीताराम राय यादवलाई आफू नेपाल प्रहरीमा कार्यरत रहेको र इमर्जेन्सी भएका कारण मोटरसाइकल आवश्यक परेको भनी ना.४प २२१२ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल लिई फरार भएका थिए ।
सोही मोटरसाइकल प्रयोग गरी विभिन्न मानिस, व्यापारीसँग रकम उठाइरहेको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएपछि प्रहरीले नक्कली प्रहरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।
इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोलीले अन्सारीलाई साउन ७ गते पक्राउ गरेको थियो भने अन्सारीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
यस्तै, बारा प्रहरीले यस्ता किसिमको घटना अन्य व्यक्तिहरूसँग पनि हुन सक्ने भएकाले ठगीमा परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिन र आगामी दिनमा यस्ता घटनाबाट बच्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।