ओठमा चमक ल्याउन गुलाफको पेस्ट

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

सौन्दर्यका लागि गुलाफको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको छ । यसले छालालाई हाइड्रेट गरेर नरम बनाउने काम गर्छ । सफा र चम्किलो ओठले मानिसको व्यक्तित्व खुलाउन निकै सहयोग गर्छ ।ओठ फुट्ने, सुक्ने र फुस्रो हुनबाट जोगाउन भूमिका खेल्छ । यसमा भिटामिन ए, सी र ईको मात्रा प्रचुर हुन्छ । छालाको रिपेयर र रिजेनेरेशनका लागि यो महत्वपूर्ण छ । 

घरमै गुलाफको पेस्ट बनाएर ओठमा लगाउन सकिन्छ । यसका लागि गुलाफको फूलका थोरै पत्तालाई पिसेर पेस्ट बनाउनुस् । थोरै मह वा नरिवलको तेलसँग यसलाई मिसाउनुस् । त्यसपछि ओठमा लगाएर १५–२० मिनेटसम्म छाड्नुस् । अनि, मनतातो पानीले पखाल्नुस् । दैनिक रूपमा यस्तो प्याक लगाउँदा हुने केही फाइदा यस्ता छन् :

मोस्चराइजेसन
गुलाफको पेस्ट यसरी लगाउनाले ओठ फुस्रो हुँदैन । चिल्लो र नरम हुन्छ । 

शीतल
ओठलाई शीतल बनाउँछ । घामको प्रकाशका कारण ओठ डढेको वा चिलाएको हुन सक्छ । यस्ता समस्यामा पनि यो प्याक प्रभावकारी छ । 

बुढ्यौली रोक्न
 गुलाफमा राम्रो मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले चाउरीपन रोक्न सहयोग गर्छ । 

चम्किलो छाला 
गुलाफले छालालाई चम्किलो बनाउँछ । छालामा दागधब्बा पनि आउन दिँदैन र तपाईंलाई युवा देखाउँछ । गुलाफको मिठो बास्नाले मानिसको मुडलाई पनि राम्रो बनाउँछ । तसर्थ, ओठमा गुलाफको प्याक लगाउँदा तपाईंले आरामदायी महसुस गर्न सक्नुहुन्छ । 

गुलाफको प्याक लगाउँदा कसै–कसैलाई एलर्जी पनि हुन सक्छ । तसर्थ, पूरै ओठमा गुलाफको प्याक लगाउनुअघि थोरै भागमा मात्रै लगाएर एक वा दुईपटक परीक्षण गर्नु राम्रो हुन्छ । यदि तपाईंको छाला संवेदनशील छ वा अन्य कुनै समस्या छ भने तपाईंले यो अर्गानिक प्याकको प्रयोग गर्नुअघि छालारोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो हुन्छ । 

सुझावित समाचार