सिमलताल पहिराे : बससहित यात्रुको खोजी जारी

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

भरतपुर महानगरपालिका– २९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिराेसँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी  छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केराबारीसम्म शंकास्पद वस्तु देखिएपछि दोहोर्याएर  खोजतलास गर्न लागिएको हो ।
 
नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शंकास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ। भारतीय टोलीले धमिलो वेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उनले शंकास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए । 
 
यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको संख्या २४ मा झरेको छ । तीमध्ये ६ जनाको सनाखत हुन सकेको छैन ।
 
चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो। आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६  पुरुषको छ भने दुईवटा महिलाको छ। त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच  भारतीय नागरिकका छन् ।

सुझावित समाचार