केन्द्रीय सहमतिअनुसार बागमतीमा सत्तासहकार्य गर्न लागेका कांग्रेस र एमालेले प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गरेका छन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले कांग्रेस र एमालबीच नौबुँदे न्यूनतम साझा कार्यक्रम तय गरेको जानकारी दिए । कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम आज आइतबार सार्वजनिक गर्ने उनको भनाइ छ ।
उपनेता चित्रकारले प्रदेश सभाका दुई ठूला दल कांग्रेस र एमाले सरकारमा सहभागी भएपछि नगरिकले सरकार छ भन्ने अनुभूति गर्ने गरी न्यूनतम साझा कार्यक्रम तय गरेको बताए । उनका अनुसार साझा न्यूनतम कार्यक्रमसँगै मन्त्रालयको संख्या निर्धारण र मन्त्रालयको भागबन्डासमेत अन्तिम चरणमा पुगेको छ ।
कार्यदलले बागमती प्रदेश सभामा सहकार्य गर्ने प्रतिबद्धतासहित शालिकराम जम्कट्टेल नेतृत्वको सरकारको विपक्षमा मतदान गर्न प्रदेश सभामा रहेका अन्य दलसँग पनि अनुरोध गर्ने निर्णय गरेको छ ।
यसअघि नै कांग्रेस, एमाले र राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् भने एमालेले शनिबार मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा मत दिन प्रदेश सभा सदस्यलाई ह्विप जारीसमेत गरिसकेको छ ।
तत्काल एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा बनेको माओवादी केन्द्रका नेता जम्कट्टेल नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर एमाले बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् । उनले आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।