कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। 

शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको कांग्रेस बागमती प्रदेश समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेश सभामा लिन लागेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको समेत उपस्थिति थियो। 

बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा एमालेसहितको सरकार बनाउने कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनले यसअघि नै निर्णय गरिसकेको छ।

अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै प्रदेशमा मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका हुन्।

उनको पक्षमा प्रदेश सरकारमा रहेका एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको मात्र समर्थन छ। अहिलेसम्म कांग्रेस, एमालेसहित राप्रपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने स्पष्ट पारिसकेका छन्।

सुझावित समाचार